‘प्रधानमन्त्री ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाए’ : प्रचण्ड-माधव पक्ष

‘प्रधानमन्त्री ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाए’ : प्रचण्ड-माधव पक्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो । चार जना पूर्व प्रधानन्यायाधिशले प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भत्र्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले सरकारी सञ्चार माध्यमहरु कुनै गुटको प्रचारक जस्तो काम गरेको भन्दै राज्यको स्रोत साधन दुरुपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न माग समेत गरेको छ । बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढिकरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए। सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएकोमा आफुहरुको विरोध रहेको बताए ।

प्रतिनिधिसभा विघटनपछिको प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै राष्ट्रिय सभाको आइतबारको बैठकमा सहभागी नभएको पनि उनको भनाई छ ।

सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिंदै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डको भारत भ्रमण परिवारलाई स्वास्थ्य उपचार गराउने शिलशिलामा भएको र उनको कुनै राजनीतिक भेटघाट तथा राजनीतिक वार्ता नभएको पनि स्पष्ट पारे ।

 

Logo