‘चालकहरुले मापसे गरेपछि सवारीको स्टेयरिङ छुँदै नछुँदा राम्रो’ : भिमप्रसाद ढकाल

‘चालकहरुले मापसे गरेपछि सवारीको स्टेयरिङ छुँदै नछुँदा राम्रो’ : भिमप्रसाद ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्वका १६२ देशमा कोरोना भाइरसको प्रकोप फैलिएको र नेपाल पनि यसको उच्च जोखिममा रहेकाले यसको प्रकोपबाट बच्नको लागि सरकारले विभिन्न कामहरु गरिरहेको छ । यता ट्राफिक प्रहरीले पनि कोरोनाबाट सजक रहनका लागि मापसे जाँच गर्न पनि बन्द गर्ने योजना बनाएको सन्दर्भमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालसँग केन्द्रविन्दुका संवाददाता अनिस मिजारले पाँच प्रश्न गरेका छन् ।

१.कोरोनाको कारणले मापसे जाँच रोकिने कुरा सुनिन्छ, के यो साँचो हो ?
पहिलो कुरा कुनै पनि व्यक्तीले मापसे गरेर सवारीसाधन चलाउनु हुँदैन । यो कुरा सबैमा सर्वव्यापी भएको छ । यो कुरा जानकारी भएका नागरिकले मापसे गरेर सवारी चलाउनु हुदैन । जुन अहिले कोरोना भाइरसको जोखिम छ । यो जोखिमबाट बच्न पनि पहिला मापसे गरेर सवारी चलाउनेले पनि छोड्न जरुरी रहेको छ । चालकहरुले मापसे गरेपछि सवारीको स्टेरिङ छुदै नछुदा राम्रो । यो अवस्थामा मापसे चेक हल्का हुन्छ भन्ने भ्रममा नपर्नुस् । यस्तो अवस्थामा मापसे गरेर सवारी चलाउनु भनेको जोखिम निम्त्याउनु हो । त्यसैले हामीले कसैले मापसे गरेको छ कि छैन भनेर चेक नै गर्नु नपरोस् । अर्को कुरा मापसे जाँच गर्न रोक्ने कुरा होइन । सुँघेर जाँच गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले मेसिनबाट मात्रै जाँच गर्ने व्यवस्था हुनसक्छ ।

२.पहिलेको तुलनामा अहिले मापसे सेवन गरेर सवारी साधन चलाउनेको संख्यामा परिवर्तन भएको छ कि छैन ?
अहिले मापसे जाँच गर्दा पहिलेकै तुलनामा मापसे गरेको हामीले पाइरहेका छौँ । अहिले कतिपय मानिसहरुमा भ्रम परेको हो की जस्तो पनि लागेको छ । कोरोना भाइरसको प्रभावले गर्दा रक्सी खायो भने कोरोना भाइरसबाट जोगिन्छ भन्ने हल्ला भएकाले पनि खाएको पाइन्छ । चालकहरुमा पनि मापसे गरेर सवारी चलाउन हुने हो की भन्ने देखिएको छ । चालकलाई यस्तो नगर्न अनुरोध छ ।

३.कोरोनाबाट सजक रहन ट्राफिक प्रहरीले कसरी काम गरिरहेको छ ?
कोरोना भाइरस अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट बच्न हामी सबैले सावधानी अपनाउनु पर्छ । हामी ट्राफिक प्रहरी त अझ सडकमा तथा भिडभाडमा रहनु पर्ने भएकाले पनि बढी सजक रहनु पर्ने भएको छ । त्यसैले हामीले पनि काम गर्दा सजक भएर काम गरिरहेका छौँ । मापसे चेक गर्दा मुखामुख गरेर फुक्न लगाएर चेक नगर्न सूचना नै जारी गरेका छौं । हुन त हामीलाई मापसे चेक नै पर्नु नपरोस् भन्ने हो । अहिले अति आवश्यक परेमा मेसिनले चेक गर्ने हो । मेसिनले चेक गर्दा पनि सजकतापूर्वक गर्ने गरेका छौं ।

४.यातायात क्षेत्रको भिडभाडलाई व्यवस्थित गर्न के कस्तो पहल भइरहेको छ ?
त्यसका लागि हामीले सर्वसाधारणलाई यात्रा गर्दा मास्कको प्रयोग गर्न र दुरी कायम गरेर बस्न अनुरोध गरेका छौँ । त्यसैगरी चालक र सहचालकहरुलाई पनि मास्कको प्रयोग गर्न अनुरोध गरेका छौँ । सवारी साधनहरुको कमि भएको कारणले र हतार गरेर यात्रुहरु एउटै गाडीमा कोचाकोच र ठेलाठेल गरेर यात्रा गर्न बाध्य हुन्छन् । बरु हामीले यात्रुहरुलाई थप सवारी साधनको व्यवस्था गर्ने गरि व्यवसायीहरुसँग कुरा उठाएका छौँ । यात्रुहरुलाई अनुरोध गर्दछु कि बरु दुई मिनेट कुरेर अर्को गाडीमा जानुहोस् तर हतार गरेर, भिडभाड गरेर, कोचाकोच गरेर यात्रा नगर्नुहोस् ।

५. मापसे नियन्त्रण गर्न र कोरोनाको सावधानी अपनाउन सर्वसाधारणलाई के भन्न चाहनुहुन्छ ?
हामीले जे पनि गर्छौं त्यो आफ्नो फाइदाको लागि नभएर सर्वसाधारणकै हितको लागि हो भनेर नागरिकहरुले बुझ्न जरुरी छ । कोरोना भाइरस भनेको भोलि हट्न सक्छ । सरकारले भनेका कुरालाई सावधानीपूर्वक पालना गरे कोरोना भाइरसको प्रकोपबाट बच्न सकिन्छ । यस्तो बेलामा सजग हुने हो आत्तिने होइन । जोखिम र दुर्घटना भनेको सधैंको लागि हुने हो । त्यसैले अहिले कोरोना भाइरसको प्रकोप बढेको बेलामा होस् वा अरुबेलामा पनि मापसे गरेर सवारीसाधन नचलाउनुस् ।

Skip This
Skip This
Logo