काठमाडौँ ।
चीनबाट फैलिएको कोरोना संक्रमणका कारण अहिले विश्व अर्थतन्त्र प्रभावित भएको छ ।
यतिबेला विश्वका पर्यटन, उद्योग, व्यापार, व्यवसाय, वित्तीय, रेमिट्यान्स तथा निर्माण लगायतका क्षेत्र प्रभावित भएका छन् । कोरोना प्रभावकै कारण नेपालको अर्थतन्त्र पनि विस्तारै प्रभावित हुँदै गइरहेको छ । अर्थतन्त्रको मुख्य हिस्सा मानिने वित्तीय क्षेत्र पनि त्यसबाट अछुतो छैन । नेपालमा कोरोना संक्रमण फैलि नसकेको भएपनि त्रासका कारण दैनिक बैंकिङ कारोबार प्रभावित हुन थालेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।
‘पर्यटन क्षेत्रको कारोबार घटेको छ ।’ अध्यक्ष दाहालले केन्द्रबिन्दुसँग भने । बैंकबाट जाने ठूला र नयाँ कर्जाहरु पनि प्रभावित हुन थालेका छन् । अरु क्षेत्रको बैंकिङ कारोबारमा पनि विस्तारै असर देखिँदै आएको उनको भनाई छ । तर कुन क्षेत्रको कारोबारमा कति क्षति भयो भन्ने कुराको तथ्यांक आएको छैन । हल्ला र त्रासका कारण केही मात्रामा प्रभावित भएपनि डराउनु पर्ने अवस्था भने नरहेको उनले बताए ।
कोरोनाको संक्रमण नेपालमा भित्रि नसकेको भए पनि आम जनतामा त्यसको त्रास बढेको छ । हालसम्म बैंकिङ क्षेत्रमा त्यति ठूलो असर गरिसकेको नभएपनि बैंकका ग्राहकमा मनोवैज्ञानिक असर पर्न थालेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । सरकारले धेरै मानिसहरुको जमघट हुने ठाउँमा जान रोक लगाउनुका साथै ठूला ठूला कार्यक्रमहरु रद्ध गरेसँगै बैंकका ग्राहकमा पनि त्रास देखिएको हो । अहिले विस्तारै प्रभावित हुँदै गइरहेकाले त्यसको असर त्रैमासिक विवरणमा देखिने अधिकारीले बताए ।
कारोबारका लागि बैंकमा जाँदा धेरै मानिसहरु एकै ठाउँमा हुन्छन् । त्यसबाट आफूहरुमा पनि सर्ने हो कि भन्ने त्रास ग्राहकमा देखिएको एक बैंकर्सको भनाई छ ।
कारोना संक्रमणका कारण नेपाल भित्रिने रेमिट्यान्स प्रभावित भएको छ । जसका कारण बैंकिङ प्रणालीबाट आउने रकममा कमी आउँछ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत पुस महिनासम्ममा ०.९ प्रतिशतले रेमिट्यान्स बढेको छ । यस अवधीसम्म रेमिट्यान्स ४ खर्ब ४७ अर्ब २६ करोड रुपैँयाँ बैंकिङ प्रणालीबाट भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ३० दशमलव २ प्रतिशतले बढेको थियो । गतवर्षको पुसको तुलनामा यस वर्षको पुसमा २९.३ प्रतिशत विन्दुले रेमिट्यान्स आप्रवाहमा कमी आएको राष्ट्र बैंकको तथ्यांक छ ।
राष्ट्र बैंकका अनुसार पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.५ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.५ प्रतिशतले बढेको थियो । गतवर्षको पुसको तुलनामा यस वर्षको पुस मसान्तसम्म ४ प्रतिशत विन्दुले घटेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेसँगै बैंकिङ प्रणालीमा तरलता चाप पर्न थालेको छ । त्यसो त गत पुस मसान्तमा सरकारलाई राजश्व बुझाउन बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरएकाले बैंकिङ प्रणालीमा तरलताको चाप परेको थियो ।
कोरोना संक्रमणकै कारण सरकारले लक्षित गरेको ८.५ प्रतिशत आर्थिक वृद्धिदर खुम्चने नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले उल्लेख गरेको छ । ‘कोरोनाका कारण आर्थिक वृद्धिदर खुम्चिन सक्छ भनेर मौद्रिक नीतिको समीक्षामा भनिसकेका छौँ ।’ राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीबि नेपालले भने ।





























प्रतिक्रिया