काठमाण्डौ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बाँध परिक्षण गर्ने समयमा विशेष सर्तकता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । बाँध परिक्षणका क्रममा एकै पटक ठूलो मात्रामा पानी छाड्नुपर्ने भएकाले बाँधभन्दा तल्लो तटीय क्षेत्रअन्तर्गत तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिंगटी बजारसम्मका स्थानीयलाई सो आग्रह गरिएको हो ।
आयोजनाले दोलखाको सिंगटी बजारदेखि सिन्धुलीको खुर्कोटमा पर्ने तामाकोसी र सुनकोसी नदीको दोभानसम्म नदीको पानीको सतह घटबढ भइरहने भएकोले नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजानेजस्ता काम नगर्न समेत अनुरोध गरेको छ ।
आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाहरुको प्राविधिक परीक्षण चैत ३ गतेदेखि २२ गतेसम्म हुनेछ । अहिले आयोजनाको जलाशय तथा बालुवा थिग्राउने पोखरीमा पानी भर्ने काम गर्न लागिएको छ । यसको लागि नदीको पानी रोक्ने र छोड्ने गरिरहनु पर्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित रहन आयोजनाले सूचना जारी गरी सकेको छ ।
तामाकोसी–सुनकोसी दोभानसम्म नदीले छुने सबै पालिका तथा दोलखा र रामेछापको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सूचना पठाएको आयोजनाले जनाएको छ ।
सूचनाको अवज्ञा गरी नदीमा गएर कुनै दुघर्टना भएमा आयोजना जिम्मेवार नहुने समेत सूचनामा उल्लेख गरिएको छ । यसबारे आवश्यक सूचना लिन ०४९४१३००३ वा ०४९४१३००५ मा सम्पर्क गर्न समेत आयोजनाले आग्रह गरेको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजना चार सय ५६ मेगावाट क्षमतामा निर्माणाधीन छ ।
































प्रतिक्रिया