बालविवाह रोक्न कार्डमै जन्ममिति !

बालविवाह रोक्न कार्डमै जन्ममिति !

केन्द्रबिन्दु
0
Shares

उदयपुर ।

उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ । उमेर पुगेको प्रमाण थाहा पाउने कसरी ? त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने ।

त्रियुगा–१२ त्रिवेणी टोलकी २५ वर्षीया साजना चौधरीको विवाहको कार्ड उमेर खुलाएर छापिएको छ। उनको विवाह त्रिनपा–१३ वहेडवाका २५ वर्षीय मनोज चौधरीसँग हुँदैछ।

त्यस्तै, त्रिनपा–४ वगाहाकी सिर्जना कार्की र प्रकाश बस्नेतका अभिभावकले पनि जन्ममिति खुलाएर कार्ड छापे । दुवैको जन्ममिति कार्डको माथिल्लो भागमा छापिएको छ।

गाईघाटका अफसेट प्रेसमा छाप्न ल्याइएका विवाह कार्डमा उमेर खुलाइएको छ । जन्मदर्ता अनुसार मिति मिले–नमिलेको हेरेर मात्र कार्ड छापिने गरेको लक्ष्मी अफसेट प्रेसका सञ्चालक सुनील महतोले जानकारी दिए ।

जन्मदर्ताबिना छाप्न आएकालाई फर्काउने गरेको उनले बताए। उनले भने, ‘धेरैजसो जन्मदर्ता बेगर आउँछन्, लिएर आए मात्रै छाप्छौं भनेपछि कोही नछापीकनै फर्कने गरेका छन्।’

जन्मदर्ता बेगर आएका कार्ड नछापीकनै फर्काइने गरेको कार्की छापाखानाका सञ्चालक हिमाल कार्की बताउँछन् । जिल्लामा बालविवाह नरोकिएपछि सरकारी र गैरसरकारी निकायले विवाहको कार्डमै उमेर खुलाउन अभियान चलाएका छन्। अभियानमा छापाखाना र परिवार राजी भएका छन्।

कानुन विपरीत विवाह गराउने व्यक्तिसमेत कारबाहीमा पर्ने भएकाले कार्डमा जन्ममिति खुलाउने अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । जिल्लामा बर्सेनि सरदर ६० जोडीको बालविवाह हुने गरेको छ । ती मध्ये आधा मात्रै प्रहरीकहाँ पुग्छन् । अभिभावकको मौन स्वीकृतिमा विवाह हुने गरेको अभियन्ता खतिवडाले बताए। अन्नपूर्णबाट

Skip This
Skip This
Logo