पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा पुग्दा जे देखियो (भिडियोसहित)

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा पुग्दा जे देखियो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  • सृजना राई

काठमाडौं ।

बुधबार बिहान पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित मनोहराफाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान करिब ७ः४० बजे बम विस्फोट भएको हो ।

स्थलगत रिर्पोटिङका क्रममा केन्द्रबिन्दु टिम बुधबार दिउसो घटनास्थल पुग्यौं । घटनास्थल पुग्दा स्थानियवासी, सुरक्षाकर्मी साथै मिडियाको बाक्लो भिड थियो । ३ तलाको निर्माणाधीन घर छेउमा सिसैसिसाले बनेको घर झट्ट हेर्दा गोकुल बाँस्कोटाको घर त्यही हो भन्ने लागेको थियो ।

क्षति पनि सोही सिसैसिसाले भरिएको घरमा धेरै देखिन्छ । तर त्यही घरको छेउमा निर्माणाधिन अवस्थामा रहेको गोकुल बाँस्कोटाको घरमा विप्लव समुहले बम विस्फोट गराएका हुन् । निर्माण भइरहेको बाँस्कोटाको घरको पर्खालमा क्षति पुगेको छ भने घर छेउमा राखिएको बा १९ च ४७८१ नम्बरको एउटा निजी भ्यानमा पुरै क्षति भएको देखिन्छ । प्रहरीका अनुसार नजिकका घरहरु बाहिरबाट पुरै क्षति भए पनि घरभित्र र मानवीय क्षति भने भएन ।

सुरक्षाकर्मीहरुले घटनास्थलमा कडाईकासाथ निगरानी गरिरहेको छ । सिआईबीले घटनास्थलको स्थलगत अवलोकन गर्दै अनुसन्धान गरिरहेको थियो । प्रत्यक्षदर्शी नवराज भण्डारीले केन्द्रबिन्दुसँग भने ‘पानी थापिरहेको थिएँ, एक्कासी ठूलो आवाज आयो, म त तर्सिएँ । यसो हेर्दा कालो धुँवा उडिरहेको देखें के भएछ भनेर आत्तिदै आएँ, यहाँ आउँदा बारुदको गन्ध आइरहेको थियो, कपडाको डल्लाहरु जताततै छरपस्ट भएको थियो । एकछिन पछि प्रहरीहरु पनि आए । अनि बल्ल निश्चित भयो बम पड्केको रहेछ भनेर ।’

बाँस्कोटाको घरक्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको थियो । तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । लोकन्थलीको मनोहरा फाँटमा ठूलो आवाज निस्किएर बम विस्फोट भएकोले कोटेश्वरसम्म आवाज सुनिएको थियो ।

“मर्निङवाक जाँदै थिएँ, ठूलो आवाज आयो । कहाँबाट आएको सुरुमा त पत्तै पाउँन सकिन । १५/२० मिनेटपछि मात्र जानकारी पाएँ । म यहाँ आइपुग्दा बाक्लो भिड लागेको थियो । यस घटनाले पक्कै पनि राम्रो सन्देश दिएको छैन, स्थानियहरु त्रसित भएका छन् । हाम्रो घरमा पनि बम राखेको छ की भन्ने त्रास भइरहेको छ । नजिकै स्कूल छ बालबालिकाहरुको परीक्षा नजिकिंदै छ । यस घटनाले विद्यार्थीहरु स्कुल जाने वातावरण रहेन । स्थानियहरु निदाउन सक्ने अवस्थामा छैनन् । जो कोही होस् घटना गराउने त्यसलाई पनि राम्रो भने हुने छैन । १० वर्षे जनयुद्धले त्रसित बनाएको हामीलाई फेरि पनि यस्तो प्रकृतिको घटनाले त्रसित बनाउँछ । यस घटनाप्रति हामी स्थानियहरु आपत्ति जनाउँछौं ।” –स्थानिय युवा नेता सुनिल के.सीले केन्द्रबिन्दुलाई बताए ।

तस्वीरहरु : राजेश खाती / केन्द्रबिन्दु

Skip This
Skip This
Logo