सामाजिक सुरक्षा कोषमा डेढ लाख श्रमिक आवद्ध

सामाजिक सुरक्षा कोषमा डेढ लाख श्रमिक आवद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ – सरकारले गत साउन १ गतेदेखि सुरू गरेको सामाजिक सुरक्षा कोषमा हालसम्म एक लाख ५१ हजार ४ सय ८५ जना श्रमिक आवद्ध भएका छन् ।

कोषमा ७६ करोड २४ लाख रुपैँया कुल योगदान रकम संकलन भएको छ । कोषमा १२ हजार २ सय ६९ रोजगारदाता सूचीकृत भएको कोषले जनाएको छ ।

सरकारले निकै तामझामका साथ नीजि क्षेत्रमा आवद्ध श्रमिकहरुका लागि सामाजिक सुरक्षा कोषको सुरुवात गरेको थियो । तर सरकारको तयारी अनुसार भने आकर्षण बढ्न सकेन । कोषले यस वर्ष निजी सङ्गठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीबाट योगदान रकम ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । कोषले सो संकलित रकम जलविद्युत यातायात ,पूर्वाधार, पर्यटन तथा उत्पादनमूलक लगायतका क्षेत्रमा लगानी गर्ने योजना तयार पारेको छ ।

सरकारले गत असोज मसान्तसम्म सबै रोजगारदाता तथा श्रमिकहरुलाई कोषमा आवद्ध हुन निर्देशन दिएको थियो । तर सो समयसम्म रोजगारदाता तथा श्रमिकहरु कोषमा आवद्ध भएनन् । जसले गर्दा गत कार्तिकमा एक महिनाका लागि समय थप गरिएको थियो । तर अझै पनि रोजगारदाता तथा श्रमिक कोषमा आवद्ध हुन आकर्षित भएका छैनन् ।

निजी क्षेत्रका धेरै संघ संस्थाहरुलाई कोषमा गरिएका केही व्यवस्थाहरुप्रति भने रोजगारदाता तथा श्रमिकहरु असन्तुष्ट भएका छन् । जसका कारण ऐन नै संशोधन भइरहेको छ । कोषमा आवद्ध भएकालाई स्वास्थ्य तथा मातृत्व बीमा, दुर्घटना बीमा, योगदानकर्तालाई पेन्सन र मृत्युपछि आश्रित परिवारलाई पेन्सन गरी विभिन्न ४ प्रकारका योजनाहरु व्यवस्था गरिएको छ ।

यसअघि ठूला व्यावसायिक संस्थाहरु पनि कोषमा सूचीकरण भएका छन् । सीजी, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, गरूड, गोल्यान समूह, नोबेल मेडिकल, ट्रिनिटी, शंकर ग्रुप, वर्ल्ड लिंक, ईसेवा, सूर्य नेपाल, मेडिकेयर, किस्ट मेडिकल, होटल ग्राण्डी, टाइगर, युनिलिभर तथा होटल अन्नपूर्णलगायतका कोषमा सूचीकरण भएको कोषले जनाएको छ ।

Skip This
Skip This
Logo