काठमाडौं । मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नु अवसर र चुनौती दुवै भएको बताएका छन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै डा. शर्माले यस्तो बताएका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा हप्तामा दुई पटक नियमित मिर्गौला प्रत्यारोपण हुने भए पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दा मनो वैज्ञानिक दबाब परेको उनको भनाइ छ ।
‘मिर्गौला प्रत्यारोपण गर्नु आफैमा प्रेसरको काम हो, त्यसमा पनि प्रधानमन्त्री जस्तो देशको कार्यकारी व्यक्तिको गर्दा अझ दबाब हुन्छ । उहाँको मिर्गौला प्रत्यारोपण गर्न पाउनु हाम्रो लागि अवसर र चुनौती दुवै हो ’–उनले भने–‘ नेपाली डाक्टरलाई उहाँले विश्वास गरेर प्रत्यारोपण गर्न आउनु हाम्रा लागि अवसर हो भने त्यसलाई सफल बनाएर देखाउनु हाम्रा लागि चुनौती पनि ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुन २१ गते त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतामा पाँच घण्टा लगाएर दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
१३ वर्ष अगाडि भारतको अपोलो अस्पतालमा पहिलो पटक मिर्गौलाको प्रत्यारोपण गराएका ओलीको मिर्गौलामा समस्या देखिएकाले दोस्रो पटक नेपालमा नै मिर्गौला प्रत्यारोपण गरिएको हो ।































प्रतिक्रिया