काठमाडौं ।
रंगहरुको पर्व फागु अर्थात होली यसपटक केही फरक तरिकाले मनाउनु पर्ने भएको छ । चीनको वुहान प्रान्तबाट विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस अर्थात् कोभिड १९ को जोखिम बढेसँगै सरकारले समुह र भीडभाडमा फागु अर्थात् होली नखेल्न र भीडभाडमा नजान सूचना जारी गरेको छ ।
होली पर्व समुह र भीडमा मनाइने भएकाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नागरिकलाई सचेत पारेको हो । विगतका वर्षहरुमा समूहमा भेला भएर विविध साँस्कृतिक कार्यक्रम गरी मनाउने होली अर्थात् फागु पर्व यसवर्ष कोरोना जोखिमका कारण सामूहिक रुपमा मनाउन नहुने बताइएको छ । धेरै संख्या भएको ठाउँमा कोरोनाको उच्च जोखिम हुने भएकाले गृह मन्त्रालयले सामूहिक रुपमा होली नखेल्न आव्हान गरेको छ ।
विगतका वर्षहरुमा होली पर्व लोला र पिच्कारी खेलि आपसमा रंग छर्दै मनाउने गरिन्थ्यो तर यो पटक घरमै परिवारसँग रमाइलो गरी मनाउनु पर्नेछ । तर पानी खेल्दा चिसोले रुघाखोकी र निमोनिया हुन सक्ने र कोरोनाको पनि लक्षण सोहि हुने भएकाले सामान्य रुघाखोकी हो वा कोरोना हो शंका हुने भएकाले पानीबाट जोगिन समेत सरकारले सचेत गराएको छ ।
धार्मिक मान्यता रहेको होली पर्वलाई पूर्ण रुपमा नमनाउन भन्दा पनि परिवार र सानो समूहमा मात्र मनाउने गर्नुपर्दछ । कोरोनाबाट बच्न सफा र गुणस्तरिय अविरको प्रयोग गर्ने, होली खेल्दा माक्स लगाउने, नचिनेका मानिसहरुसँग होली नखेल्ने र होली मनाउने बहानामा फोहोर तथा ढलको पानी प्रयोग नगर्ने लोला तथा अन्य केमिकलको प्रयोग नगर्ने, बाटोमा हिड्ने मानिसलाई जबरजस्ती रंग नलगाउने, सामूहिक कार्यक्रममा कम सहभागी हुने, मासुजन्य र धुम्रपान मद्यपानको सेवन नगर्ने उपायहरु अपनाउन सकिन्छ ।
होलीको धार्मिक महत्व भए पनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न संयमता अपनाउन सरकारले आग्रह गरेको छ । हेरौं भिडियोमा :































प्रतिक्रिया