काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हक अधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताए । उनले महिला दिवसले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
संविधानले महिलालाई धेरै हदसम्म अधिकारसम्पन्न बनाउनु ज्यादै खुशीको कुरा भएको उल्लेख गर्दै उपराष्ट्रपतिले संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै जानु सकारात्मक भएको बताए ।
“राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक लगायतका अधिकार सुनिश्चित गरेको छ”, सन्देशमा उपराष्ट्रपतिले भनेका छन् , “जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसर पाउनु पर्दछ ।”
उनले महिला दिवसले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उत्साह, जोश, जाँगर तथा शक्ति थपियोस् भनी कामनासमेत गरेका छन् ।































प्रतिक्रिया