सोमबार शेयर बाजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि सर्किट लागेर बन्द भएको छ ।
यो साताको सुरुवात मै अर्थमन्त्री डा. युवराज खतिवडा रष्ट्रिय सभामा नरहने भएपनि अर्थमन्त्रीमा निरन्तरता पाउने समाचार आएपछि शेयर बजारमा गिरावट देखिएको हो । आइतबार ४० अंकले घटेको नेप्से परिसूचक सोमबार भने झण्डै १ सय अंकले तल झरेको छ ।
कारोबार सुरु हुँदा १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा खुलेको नेप्सेमा ९६ अंकले गिरावट आउँदा १ हजार ४ सय ९५ दशमलव ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १९ दशमलव २ अंकले घटेको छ । कारोबार रकम २ अर्ब १५ करोड ४४ लाख २८ हजार २ सय १५ रुपैयाँ बराबरको भएको छ ।
बजार खुलेको २ घण्टा नहुँदै ५ प्रतिशतले नेप्से घटेपछि ३० मिनेट सम्म सर्किट ब्रेक लागेको थियो । तर फेरि बजार खुलेको केही समयमै ६ प्रतिशतले गिरावट आउँदा सोमबारका लागि कारोबार पूर्णरुपमा बन्द भएको हो । बजारका लगानीकर्ता भने अल्पकालिन लागानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा बजार घटेको बताउँछन् । तर्कहिन व्यवहारका कारण बजारमा माथि गएको र अल्पकालमा फाइदा लिन खोज्ने लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा विक्रीचाप बढी हुन गई नेप्सेमा उच्च गिरावट भएको देखिन्छ ।
नेप्सेमा सर्किट ब्रेक हुनेगरी गिरावट आएपछि बजारमा करेक्सन आएको हो वा फेरि घट्दो अवस्थामा जान खोजेको हो भन्ने अन्योलमा लगानीकर्ता परेको देखिन्छ । त्यस्तै कोरोना भाइरसका कारण चीनसँगको व्यापार गर्न नपाएका व्यवसायीहरुले अलपकालका लागि लगानी गरेको र त्यसको फाइदा सुरक्षित गर्न विक्रीचाप बढाएका कारण पनि नेप्सेमा उच्च गिरावट आएको तर्क लगानीकर्ताहरुको छ ।
बाजरमा उच्च गिरावट आउँदा सबैभन्दा बढी असर बीमा र बैंकिङ क्षेत्रमा परेको छ । सोमबार सबैभन्दा बढी निर्जीवन बीमा समूह ७ दशमलव ४६ प्रतिशत र जीवन बीमा समूह ७ दशमलव ४५ प्रतिशतले घटेको छ । बैंकिङ समूह पनि ६ दशमालव ७४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँ र एनआइसि एसिया बैंकको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार घटेपनि तीन कम्पनीका शेयरधनीहरुले भने सामान्य कमाएका छन् । एनआइसि एसिया ब्यालेन्स फण्ड, खानिखोला हाइड्रोपावर कम्पनी, र श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीहरुले कमाएका हुन् । प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडीसी लघुवित्त, ग्रामिण विकास लघुवित्त, शिखर इन्स्योरेन्स, सुर्या लाईफ, स्ट्याण्डर्ड चार्टर्ड, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक लागतयका कमपनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।





























प्रतिक्रिया