निगमले आजदेखि नारितामा व्यावसायिक उडान शुरु गर्दै

निगमले आजदेखि नारितामा व्यावसायिक उडान शुरु गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल वायुसेवा निगमले सोमबारदेखि पहिलो पटक जापानको नारितामा चन्द्र र सूर्य अङ्कित राष्ट्रिय ध्वजावाहक विमानको व्यावसायिक उडान शुरु गर्ने भएको छ । निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरेको थियो तर नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरेर काठमाडौँ–नारिता उडान गर्न लागेको हो ।

“नेपाली नागरिक र पर्यटकलाई ओसाका विमानस्थल टाढा भयो”, निगमका प्रवक्ता अर्चना खड्काले भनिन् “टोकियो नजिकैको नारिता विमानस्थलमा पहिलो व्यावसायिक उडान शुरु गर्न लागिएको हो, नेपाली धेरै बस्ने भएकाले सहज हुन्छ ।” जापानमा रहेका नेपालीका लागि आउजाउ गर्न नारिता उडानले सहज हुने देखिएको छ । नारिता उडान शुरु हुनु अगावै टिकट अग्रिम बुकिङ भइरहेको जानकारी दिँदै निगमका प्रवक्ता खड्काले भनिन् “काठमाडौँ–नारिता–काठमाडौँ उडानका लागि टिकटको अग्रिम बुकिङ गरिएको थियो, काठमाडौँबाट नारिता जाने २२० जनाभन्दा बढी यात्रुले अग्रिम बुकिङ गरिसकेका छन् भने उताबाट आउने २६८ जनाले टिकट लिएका छन् ।

काठमाडौँ–नारिता उडानका लागि निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । काठमाडौँबाट राति १ः२५ बजे उडान गरेको जहाज स्थानीय समय अनुसार ११ बजे नारिता अवतरण गर्नेछ भने नारिताको समय अनुसार दिउँसो १ बजे उडान गरेको जहाज नेपाली समय अनुसार १८ः२५ बजे अवतरण हुनेछ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ ।

निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम ७३ हजार कायम गरिएको छ । शुरुआतमा ‘प्रमोशनल फेयर’अन्तर्गत यो भाडादर सार्वजनिक गरे पनि भाडादर परिवर्तन हुन सक्छ । निकट भविष्यमा यात्रुको माग अनुसार भाडादर कायम गरिनेछ । दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले ‘सेडुल’ उडान शुरु गर्न लागेको हो ।

Skip This
Skip This
Logo