काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले आगामी चैतदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
कमिटीको सम्पन्न चौथो बैठकले पार्टीको गतिविधि स्थानीय तहसम्म सञ्चालन गर्नका लागि आगामी ०७६ चैत १ गतेदेखि २०७७ जेठ मसान्तसम्म गर्ने निर्णय गरेको कमिटीका सचिव आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार अभियान तयारीको लागि फागुन २२ देखि चैत ४ गतेसम्म प्रदेशका सबै जिल्लामा अभियान सम्बन्धी अभिमुखीकरण प्रशिक्षण भेला र बैठक राखी जिल्ला र पालिकास्तरीय कार्ययोजना बनाउने निर्णयसमेत गरेको छ । यस तीनमहिने अभियानमा दुईपटक प्रदेश सचिवालयको बैठक बस्नेछ र असार ५ गते प्रदेश सङ्गठन कमिटीको पूर्ण बैठक बस्ने निर्णयसमेत गरेको छ ।
अभियान अवधिमा पर्ने शहीद सप्ताह फागुन १४ देखि २१ लाई अभियानको अङ्गको रुपमा मनाउने निर्णयसमेत गरेको छ । प्रदेश कमिटीले प्रदेश अन्तर्गत ३० विभाग गठन गरी ती विभागका प्रमुख–उपप्रमुखलगायतलाई आगामी चैत २० गतेभित्र तोक्नेसमेत निर्णय गरेको छ । सबै विभागका प्रमुख, उपप्रमुखले चैत्र २० गतेभित्र विभागको बैठक राखी अभियानलाई सहयोग पुग्ने गरी कार्यक्रम तयार गरी कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको छ ।
प्रदेश अन्तर्गत रहेका मोर्चा सङगठन र पार्टी भूगोलको जिम्मेवारीसमेत टुङ्गो लगाउने निर्णय गरेको छ । बैठकले २०७६ चैत मसान्तभित्र केन्द्रीय सङगठन विभागको योजना र निर्देशनअनुसार सङ्गठित सदस्यको अभिलेखीकरण गरी वैशाख १५ सम्म नवीकरण सम्पन्न गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले कतिपय जिल्लामा सम्पन्न गर्नुपर्ने पार्टी एकताका बाँकी काम कार्यालय, सचिवालय, विभाग, जिल्ला सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, निर्वाचनस्तरीय कमिटी, पार्टी कमिटीहरु चैत मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको प्रदेश कमिटीका सचिव पोखरेलले जानकारी दिए ।
उनका अनुसार बैठकले आगामी जेठ ३ गते मदन भण्डारी जन्मजयन्ती एवं ऐतिहासिक पार्टी एकता दिवसको रुपमा प्रदेश, जिल्ला र पालिकास्तरसम्म कार्यक्रम आयोजना गर्ने तथा लेनिन जन्मजयन्ती, प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीको आयोजनामा पार्टी कार्यकर्ता र व्यापक जनसमुदायको उपस्थितिमा गराई विशेष समारोहका रुपमा सम्पन्न गर्ने निर्देशनसमेत दिएको छ ।
बैठकले चैत्र १० गतेभित्र ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रदेश सल्लाहकार परिषद्को बैठक राखी अभियानमा जिल्ला सङ्गठन कमिटीले तयार गरेको काममा सम्बन्धित जिल्लामा खटिनुपर्ने निर्णय गरेको छ ।रासस































प्रतिक्रिया