काठमाडौंको तीनकुुने–एयरपोर्ट–तिलगङ्गा सडकखण्डलाई आठ लेनमा स्तरोन्नति गरिने भएको छ । उक्त सडकको स्तरोन्नतिका लागि डिपिआरको तयारीमा सरकार लागेकोभौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए ।
आफ्नो एक सय दिनको उपलव्धीका बारेमा जानकारी दिँदै मन्त्री नेम्वाङले उपत्यकाको चक्रपथअन्र्तगत ग्वार्काे, सातदोबाटो, नक्खुचोकमा फ्लाई ओभरका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम थालिएको बताए । सूर्य्विनायक–धुलिखेल सडकखण्डलाई विस्तार गर्न र जडिबुटी–कोटेश्वरको जामको दीर्घकालिन समाधानका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले बताए ।
यस्ता चोकमा हुने ट्राफिक जाम हटाउन ‘ईन्टेलिजेन्ट ट्राफिक प्रणाली’ प्रविधि अपनाउन आवश्यक परामर्शदाता छनोटको काम थालिएको छ । पैदल यात्रुको सुरक्षित यात्राका लागि चक्रपथको बालकुमारी, सातदोबाटो, एकान्तकुनामा ‘फुटओभर व्रिज’निर्माण सकिएको तथा बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माणको डिजाईन सम्पन्न भइ ठेक्का प्रक्रियामा पुगेको छ ।
उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्डको कामसमेत अघिबढेको मन्त्रालयले जनाएको छ । कलङ्की–महाराजगञ्ज सडकखण्ड विस्तारको प्रारम्भिक प्रक्रिया शुरु भएको छ । काठमाडौँ उपत्यकाको कतिपय कोरिडोर खुलिसकेका छ भने कतिपय निर्माणाधिन अवस्थामा छ । उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्ले १०० दिनमा मात्रै सरकारले काठमाडौँ उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको छ । उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ
मन्त्रालयका अनुसार काठमाडौँको कोटेश्वर चोकमा वर्षाैदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन समाधानका रुपमा सडक चौडा पार्ने प्रक्रिया थालिएको छ । मन्त्री नेम्वाङले उपत्यका जोड्ने उक्त सडकको स्तरोन्नति र कालोपत्रका लागि आवश्यक बजेट विनियोजन गरी ठेक्का व्यवस्थापनको चरणमा पुगेको जानकारी दिए ।































प्रतिक्रिया