बामदेवमाथि प्रदिप नेपालको ‘स्टाटस’ ?

बामदेवमाथि प्रदिप नेपालको ‘स्टाटस’ ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क

काठमाडौं ।
‘बामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ?’

नेकपाका नेता प्रदिप नेपालको आजको ‘स्टाटस’ हो यो । उनको यो ‘स्टाटस’ यस्तो वेलामा आयो, जतिबेला नेकपामा शक्ति संघर्षको ‘वामअप’ उत्कर्षमा पुग्नै लागेको छ । र, यसको कारक बनेका छन् भर्खरै उपाध्यक्षमा बडोत्तरी भएका उनै बामदेव गौतम ।

बामदेव र प्रदिपको विगत चिसो गरी बित्यो । उनीहरु दुई ध्रुवमा उभिएको समाचार आउँथे । तर, पछिल्लो पटक बामदेव उपप्रधानमन्त्री बन्दा उनी सल्लाहकार नै बने । बामदेवले सल्लाह नै सुनेनन् भन्दै राजीनामा फ्याकेपछी फेरि सम्बन्ध चिसिएको चर्चा चल्यो । तर, त्यसयता उनी कहिल्यै आक्रामक बनेनन् । माथिको ‘स्टाटस’ सालीन लाग्छ । तर यसको भाव भने आक्रामक छ ।

भनिरहनु पर्दैन कि बामदेव गौतम चुनाव हारेका नेता हुन् । यो पनि भनिरहनु पर्दैन कि, उनी चुनाव हारेपछि उपनिर्वाचन लड्न तम्सिएका थिए । अर्को भनिरहनु नपर्ने विषय हो, उनी राष्ट्रियसभामा सदस्य भएर जान खुट्टा उचालेर बसेका छन् । र, उनकै आग्रह र ‘लविङ’मा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधनको ‘ताउर माउर’ चलेको थियो ।

यतीबेला बामदेवको सक्रियता ‘दिन दुई गुना र राता चौ गुना’ भएको छ । उनी नेकपाको सरकार समर्थित बाहेकका खासखास नेताहरुको पोल्टामा पुगेका छन् । नाम तोकेरै भन्नुपर्दा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको वीचमा उभिएका छन् उनी । र, आफ्नो अन्तिम इच्छा पुरा गर्न न्वारान देखिको बल निकालेर ‘हैंसे’ गरिरहेका छन् । र, आफैंमा ‘कार्ड’ पनि बनेका छन् तिनै शीर्ष नेताहरुका लागि । छोटकरीमा भन्दा बामदेवमय बनेको छ, नेकपा ।

‘बामदेव नहुँदा पार्टी लुलो हुन्छ । उनी हावी भए पार्टी धुलो हुन्छ ।’ एमालेका तत्कालीन महासचिव मदन भण्डारीले बामदेवका नाममा गरेको भनिएको यो समीक्षा फेरि एक पटक ताजा भएको छ, उनको अति सक्रियताले । किनभने बामदेव अहिले ‘हावी’ भएका छन्, कुनै न कुनै नाममा । र, उनी ‘हावी’ भए भने के के हुनसक्छ भनेर पूर्व एमालेजनले ‘लख’ काटी सकेको हुनुपर्छ । किनभने विजुली चम्कदा तर्सिने रोग त्यसलाई हुन्छ, जसलाई कुनैबेला अगुल्टोले छोएको हुन्छ ।

विशेष प्रस्तावमा बामदेव उपाध्यक्ष बने र पार्टीको ठूला कमिटीबाट अनुमोदित पनि भए । पछिल्लो पटक उनले गरेको सबैभन्दा ठूलो गोल थियो यो । भर्खरै पार्टीको सचिवालयले उनलाई राष्ट्रियसभाका लागि सर्वसम्मत उम्मेदवार बनायो, राष्ट्रपतिले मनोनित गर्नेगरी । तर, यो पछिल्लो निर्णयले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नमिठोगरी झस्कायो । र, निर्णय गरेर फर्केपछी तन्द्राबाट ब्यूँझे झैं उनी बर्बराउन थालेका छन् । बामदेवको पक्षमा भएका एकपछि अर्को निर्णय सरकारको विरुद्धमा हो भन्ने ठम्याईमा पुगेका छन्, ओली । अपुष्ट कुरो पत्याउने हो भने ओलीले बामदेवलाई राष्ट्रियसभामा लाने निर्णयको पालना गर्ने छैनन् । बरु हालका अर्थमन्त्री युवराज खतिवडालाई नै ‘ऐजन’ गर्ने छन् प्रधानमन्त्रीले ।

खतिवडालाई मन्त्रीमा राखिराख्न सांसद हुन जरुरी छैन, भनेर अर्का अध्यक्ष प्रचण्डले चितवन पुगेर बोलेका छन् । यो उनको कानुनी विश्लेषणलाई ओलीले आत्मसाथ गरे भने बामदेवको राष्ट्रियसभा यात्रा सुरु हुनेछ ।

बामदेव राष्ट्रियसभामा गएभने एउटा प्रश्न सुरु हुन्छ । गएनन् भने झनै अर्को डरलाग्दो प्रश्न सुरु हुन्छ । र, यी दुवै प्रश्न जटिल छन् । त्यही जटिलताले नेकपालाई ‘हुडल्न’ थालेको छ । प्रचण्डको शब्द सापटी लिएरभन्दा नेकपाको अबको यात्रालाई यही ‘हुडल्याई’ले ‘क्रमभंग’ गर्ने समेत सामर्थ्य राख्न सक्छ ।

आज बामदेवको ‘पोजिसन’ त्यो बिन्दुमा उभिएको छ, जसले एमाले विभाजन र माले पार्टी बनाउँदाको स्मरण गराई राखेको छ । बामदेवमाथि प्रदिप नेपालको ‘स्टाटस’ त्यही समयको पीडाबोध हो । आजका गतिविधि हेर्दा र बामदेवलाई यत्तिकै सक्रिय राखिराख्दा ठोकेर भन्न सकिन्छ, ‘नेकपाको अबको यात्रा सरल रेखामा हिड्दैन ।’

Logo