पोखरा ।
पोखरामा जारी प्याराग्लाइडिङ वर्ल्ड कप ‘एशियन टुर’ तथा १९ औं संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।
फागुन ११ गतेदेखि शुरु भएको वर्ल्डकप छनौट प्रतियोगिताको बिहिबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो ।
यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्का साथ पहिलो स्थानमा रहँदा नेपालले १७ अङ्क सहित दोस्रो हासिल गरेको थियो ।
नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए ।
पुरुष एकल तर्फ कोरियाका चियोङ हा ७५० अङ्का साथ पहिलो, जङ्गमेन चोइ ७३४ अङ्क सहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्क सहित तेस्रो स्थानमा रहेको बताइन्छ ।नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहेका छन् । महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्क सहित प्रथम, कोरियाका याना ली १५६ सहित द्वितीय र स्विजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्क सहित तेस्रो र चौथो स्थानमा रहेका छन् ।
प्रतियोगिहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेका थिए । प्रतियोगितामा २० देशका ९२ जना खेलाडीहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिहेका छन् । यस टुरबाट पाँच देखी आठ जना खेलाडी प्याराग्लाइडिङ वर्ल्डकप सुपर फाइनलका लागि छनोट गर्ने योजना छ ।
यस वर्ष नेपाल सहित इन्डोनेसिया र चीनमा तय भएको एशियन टुरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्था (ना) का निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए।रासस































प्रतिक्रिया