‘प्रधानमन्त्री संसदबाट भागेर होइन, संसदमा आएर जवाफ दिनुस्’ : सांसद पाण्डे

‘प्रधानमन्त्री संसदबाट भागेर होइन, संसदमा आएर जवाफ दिनुस्’ : सांसद पाण्डे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले मुलुकमा भईरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद पाण्डले सरकार एक पछि अर्को गर्दै काण्डै काण्डमा मुछिदै गएको भन्दै ती सबै काण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने धारणा राखेका हुन् । प्रमुख प्रतिपक्षी दलले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनको अडियो, प्रधानमन्त्रीको जन्मोत्सव लगायतबारे प्रधानमन्त्रीको जवाफ मागिरहेका बेला सरकार मौन बसेकोमा आक्रोश पोख्दै उनले प्रधानमन्त्री संसदबाट भागेर नभई संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने “प्रधानमन्त्री संसदबाट भागेर होइन । संसदमा आएर यो कुराको जवाफ दिनुपर्छ ।” उनले सञ्चारमन्त्री बाँस्कोटालाई सुपुत्र वा सो सरह व्यवहार गर्ने प्रधानमन्त्रीले उनलाई कारवाही गर्न सचिवालय बैठकमा कुरा उठ्दा बचाउ गरेको र ‘यो विषय पार्टीको एजेण्डा हुन सक्दैन’ भन्दै रोकेकाले प्रधानमन्त्री स्वयंमा पनि शंका उब्जाएको दाबी सांसद पाण्डेले गरे । सञ्चार मन्त्रालय अन्र्तगतका आयोजनाहरुमा अर्बौं भ्रष्टाचारको खेल भएको भन्दै उनले ७० करोड कमिसन काण्डको अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने “हामी के निष्कर्षमा पुग्छौ भने त्यो ७० करोडको काण्ड एक्लो संञ्चारमन्त्री गोकुल बास्कोटाले गर्नुभएको होइन । उहाँ दृश्यमा देखिनुभयो । मञ्चमा देखिनुभयो । मानिसहरु भन्छन् । नेपथ्यमा प्रधानमन्त्री स्वयं र प्रधानमन्त्री जत्तिकै शक्तिशाली व्यक्तिहरु छन् भनेर चर्चा गर्न थालेका छन् । यो खेलका पछाडी धेरै ठूला शक्ति छन् । स्वयं सम्माननीय प्रधानमन्त्री ज्यू हुनुहुन्छ कि भन्ने गम्भीर आशंका छ । गोकुल बाँस्कोटालाई बलिको बोको बनाएर । उहाँलाई बलि चढाएर बाँकीले आफू पापबाट मुक्त हुने यो कुनै धार्मिक विश्वासको कुरा होइन । संबैधानिक र कानुनी कुरा हो । यसलाई यही रोक्न पाईदैन । यहाँबाट अगाडि बढ्नुपर्छ ।”

उनले भने “सरकारको प्रवक्ता भनेको सरकारको मुख हो । मुखै त्यती बैरी छ भने सरकारको बाँकी शरिर के होला ? सरकारको हृदय के होला ? सरकारको भावना के होला ? सरकारको चेष्टा र चाहना के होला ? सरकारको लक्ष्य के होला ? हामी सहजै अनुमान गर्न सक्छौ । ”

एकपछि अर्को गर्दै सरकार काण्डै काण्डमा मुछिदै गएको र एउटा काण्डलाई ढाकछोप गर्न सरकार स्वयंले अर्को काण्ड श्रृजना गर्ने गरेको आरोप पनि उनले लगाए ।

Logo