‘भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन’ : नेता अधिकारी

‘भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन’ : नेता अधिकारी

केन्द्रबिन्दु
0
Shares

पोखरा ,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान नरहने बताएका छन् ।

आधिकारिक टेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश समितिको ११ औँ एकता अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले आरोप लाग्दैमा सत्य नहुने र कसैले भ्रष्टाचार गरेको प्रमाणित भएको खण्डमा पार्टी सदस्यबाट निलम्वन मात्र होइन जेल जान तयार हुनुपर्ने उल्लेख गरे ।

पार्टीको गण्डकी प्रदेश कमिटीका सहइञ्चार्ज रहेका नेता अधिकारीले अहिले कम्युनिष्ट पार्टीलाई चौतर्फी घेराबन्दी गर्ने र पार्टी फुटाउने कोसिस भएको उल्लेख गर्दै भने, “अहिले हाम्रो पार्टीलाई चौतर्फी घेराबन्दी गर्ने र आक्रमण गर्ने प्रयास भएको छ । पार्टी फुटाउने सम्मको कोसिस गरिएको छ, फुटेको पार्टी जुटेर आएका छौँ, त्यसैले त्यस्तो प्रयास पूरा हुन दिँदैनौँ ।”

नेता अधिकारीले पार्टीको नीतिको कारण नेपालमा लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै नेपालको आम्दानीको मुख्य स्रोत बिजुलीको उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने धारणा राखे । अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत विद्युतको प्रसारणलाइनलाई अन्तरदेशीय बनाउन लागेको चर्चा गर्दै उनले एमसिसी राष्ट्रियहित अनुकूल नभए सच्याउनुपर्ने स्पष्ट पारे ।

युनियनका केन्द्रीय संयोजक रामेश्वर पौडेलले विद्युत् प्राधिकरण भित्रको भौतिक र मानवीय वातावरणलाई स्वच्छ र सफा बनाएर एक वर्ष भित्रमा नमूना प्राधिकरण बनाउने योजनाका साथ युनियनले राष्ट्रिय अभियान थालेको जानकारी दिए । केन्द्रीय सहसंयोजक खगेन्द्र शाहीले विद्युत् प्राधिकरण पछिल्लो समयमा वार्षिक नौ अर्ब मुनाफा आर्जन गर्न सफल भएकाले प्राधिकरणलाई खण्डीकरण नगरी विस्तृतिकरण गर्नुपर्नेमा जोड दिए ।
रासस

Skip This
Skip This
Logo