गण्डकी प्रदेशमा ६७९ मानव अधिकार पीडित

गण्डकी प्रदेशमा ६७९ मानव अधिकार पीडित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २०५ र गैरराज्य पक्षबाट ४७४ गरी ६७९ व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयले सार्वजनिक गरेको अभिलेख अनुसार गण्डकी प्रदेशमा राज्य पक्षबाट १५ महिला र १९० पुरुष तथा गैरराज्य पक्षबाट ४१२ महिला र ६२ पुरुष पीडित भएको उल्लेख छ । यस्तै गैरराज्यपक्षबाट १२ पत्रकारलाई दुव्र्यवहार गरिएको छ भने राज्यपक्षबाट छ जनालाई गिरफ्तार गरेको इन्सेक जनाएको छ ।
सन् २०१९ मा बालअधिकार अन्तर्गत भएका ८२ बालिका तथा आठ बालक गरी ९० बालबालिका पीडित भएको जनाइएको छ । जसमध्ये बलात्कारमा ४२ बालिका पीडित भए भने यौन दुव्र्यवहार घटनामा ३३ बालिका र दुई बालक थिए । महिला अधिकार अन्तर्गत ३१० पीडित भएका र सबैभन्दा बढी घरेलु हिंसाबाट २३५ यस अवधिमा पीडित भएका इन्सेक गण्डकी संयोजक शिव खकुरेलले जानकारी दिए ।

उनले तीनै तहका सरकारले जनआकाङ्क्षालाई ध्यान राखेर नेतृत्व वर्गबाट निर्वाह हुने जवाफदेही भूमिकाले मात्र मानव अधिकार संरक्षण हुनसक्ने बताए। प्रदेशमा गतवर्ष राज्यपक्षबाट १२ महिला र ६१ पुरूष तथा गैरराज्य पक्षबाट ५१५ महिला र ५२ पुरूष गरी ६४० पीडित भएका अभिलेख गरिएको थियो ।
रासस

Logo