गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै

गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै

केन्द्रबिन्दु
0
Shares

चितवन ।
प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६ सय हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए।

उनका अनुसार निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । तीमध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न तीन करोड र पुरानो १ सय हेक्टरमा ५० लाख बजेट विनियोजन गरिएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । ठेकेदार कम्पनीले एक करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केही दिनभित्र काम शुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदैछ । निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ । प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्नका लागि निकासा भएको जानकारी दिए । गत वर्ष १९ लाख मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो ।

उनका अनुसार यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने भएको छ । यसका लागि उपकरणसमेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ । आउँदो तीन वर्षभित्र एक हजार ५०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ ।

चालु आवमा ४९ पोखरीको मर्मत, निर्माण र व्यवस्थापन गरिने कार्यक्रम छ । दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा विशेष जोड दिएको हो । गत आर्थिक वर्षमा निकुञ्जमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । यस वर्ष हालसम्म निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा १८ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।

निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा भए पनि घाँसे मैदान र पानीका स्रोत कम भएपछि पानीको खोजीमा भौतारिएका गैँडा धेरै मरेको अनुमान छ । दुई वर्ष अघि आएको बाढीका कारण बगाएर धेरै गैँडा पश्चिम क्षेत्रमा पुगेका थिए । चैत महिनामा गैँडा गणनासमेत गरिँदैछ । पछिल्लो गणना अनुसार निकुञ्जमा ६०५ गैँडा छन् । पछिल्ला वर्षमा शिकारीका कारण भने गैँडा मरेका छैनन् ।
रासस

Skip This
Skip This
Logo