महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।
आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको छ । पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।
यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ ।
दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ ।
पशपुतिनाथ मन्दिर परिसरमा नेपाललगायत भारतका विभिन्न राज्यबाट सयौं बाबाहरु आएका छन् । बाबाहरूको विन्दास पोजहरूलाई हामीले क्यामेरामा कैद गरेका छौं ।















फोटो: राज कार्की































प्रतिक्रिया