सर्लाहीबाट गत आर्थिक वर्षमा सवा अर्बकोे तरकारी निर्यात

सर्लाहीबाट गत आर्थिक वर्षमा सवा अर्बकोे तरकारी निर्यात

केन्द्रबिन्दु
0
Shares

सर्लाही ।

लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा करीब सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिका लगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब १५ करोड ५४ लाख ५७ हजार २४५ को तरकारी निकासी भएको हो ।

लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिका लगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करीब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताए ।

जिल्लाबाट ५५ हजार ९४५ टन तरकारी बाहिरिएकामा गोलभेँडाको पकेट क्षेत्रका रूपमा चिनिएको लालबन्दीबाट वार्षिक करीब २७ हजार ९७२ टन अर्थात् सबैभन्दा बढी ५० प्रतिशत गोलभेँडा बाहिरिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै पर्वल २५, बोडी १०, सिमी १० र भिण्डी, काउली, बन्दा, भण्टा, घिरौंला, झिम्नी, लौका, फर्सी, मुन्गा र मूलालगायत पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को साउनमा एक हजार ५९९, भदौमा चार हजार ९९८, असोजमा दुई हजार ८१३, कात्तिकमा २३ हजार ३७२, मङ्सिरमा तीन हजार ७०८, पुसमा तीन हजार ७९६, माघमा पाँच हजार ३७३, फागुनमा तीन हजार १०१, चैतमा एक हजार १८६, वैशाखमा ९२२, जेठमा दुई हजार २९५ र असार महिनामा दुई हजार ७७८ गरी कूल ५५ हजार ९४५ टन तरकारी जिल्लाबाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।

स्थानीयवासीले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटबल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमा समेत जाने/गरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले बताए ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीवासीले झण्डै एक हजार बिघाभन्दा बढी जमीनमा तरकारी खेती गर्ने गरेका कृषि ज्ञान केन्द्र मलङ्गवाका कार्यालय सहायक कार्यालय प्रमुख देवानन्द राय यादवले बताए।
रासस

Skip This
Skip This
Logo