काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा जग्गा अधिग्रहण बाँकी

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा जग्गा अधिग्रहण बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेस द्रुतमार्गमा अझै २६५ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ ।

खोकना, बुङ्मति, डुकुछाप, लेनडाँडा, महादेवटार लगायतका स्थानमा जग्गा अधिग्रहण बाँकी रहेको हो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको ‘काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको कार्यप्रगति तथा आगामी कार्ययोजना’सम्बन्धी छलफल कार्यक्रममा सो आयोजनाको निर्माण गरिरहेको नेपाली सेनाले विभिन्न स्थानमा जग्गा अधिग्रहण र रुख काट्ने काम बाँकी रहेको जानकारी दिएको हो ।

खोकनामा निर्धारित ‘एलाइनमेन्ट’ (मार्ग परिवर्तन) हुँदा कतिपय स्थानमा विद्यालय लगायतका संरचना सार्नुपर्दा जग्गा अधिग्रहण बाँकी रहेको हो । कतिपय स्थानमा निर्माणको काम अघि बढेपनि अवरोधका कारण विभिन्न स्थानमा रुख काट्ने, जग्गा अधिग्रहण, कटिङलगायतका तयारीका काम भइरहेको सेनाले जनाएको छ ।

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले खोकना र बुङ्गमतिमा जग्गा अधिग्रहण गर्नकै लागि लामो समय लागेको बताए। खोकनामा पहिलेको रेखाङ्कनुसार पुरातात्विक सम्पदा मासिने भन्दै स्थानीयवासीले विरोध गरेपछि ‘एलाइनमेन्ट’ परिवर्तन भएको थियो । हाल पहिलेको रेखाङ्कनमा जग्गा परेका स्थानीयवासीले जग्गा फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् ।

नेपाली सेनाका निर्देशक समितिका प्रमुख बलाधिकृत रथी शरद गिरीले पछिल्लो समयमा खोकनामा ‘एलाइन्मेन्ट’ परिवर्तन भएकाले रुख कटान बाँकी रहेको बताए। एउटा रुख कटान गर्दा त्यस ठाउँमा २५ रुख रोप्नुपर्न व्यवस्था भएकाले आवश्यक स्थानको खोजी भइरहेको उनको भनाइ छ । समयमै र गुणस्तरीय काम सम्पन्न गर्न ११ प्याकेजमा काम अघि बढिरहेको उनले बताए ।

उक्त आयोजनाका प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले राष्ट्रको कोशेढुङ्गाका रुपमा रहेको आयोजनाको निर्माण कार्ययोजना अनुसार नै अघि बढाइएको बताए । आयोजना निर्माणका महत्वपूर्ण कामहरु पुल, सुरुङ निर्माणलाई समेटेर समष्टिगत योजना अघि बढाउने लक्ष्य रहेको बताए । विभिन्न अवरोध आएकामा त्यसको समाधान खोजिँदै निर्माण अघि बढेको उनले बताए।

सरकारले आयोजनाको डिपिआर गत वर्ष भदौमा स्वीकृत गरेको थियो । स्वीकृत डिपिआर अनुसार चार लेनको सडकमा पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ । आयोजनामा महादेवडाँडा, धेब्रे र लेनडाँडामा गरी तीन सुरुङमार्ग हुनेछ । विशेष प्रकतिको १६ र सामान्य पुल ७१ गरी ८७ पुल निर्माण गरिने नेपाली सेनाले जानकारी दिएको छ ।
रासस

Skip This
Skip This
Logo