खोकनामा पर्यटन महोत्सव हुँदै

खोकनामा पर्यटन महोत्सव हुँदै

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खोकना पर्यटन महोत्सव २०७६’ आयोजना हुने भएको छ । लपु महानगरपालिका र वडा नं २१ को संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी फागुन ९ देखि ११ गतेसम्म उक्त महोत्सव हुन लागेको हो ।

खोकनामा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न महोत्सवले निकै सहयोग गर्ने महोत्सवका संयोजक रवीन्द्र महर्जनले जानकारी दिए। उनले भने, “यसमा खोकनाको प्राचीन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाजा तथा खानाका परिकार, स्थानीय जीवनशैली, रहनसहन, भेषभूषा, स्थानीय सीप र कलाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।”

खोकना उपत्यकाको दक्षिण भेगमा अवस्थित सांस्कृतिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण प्राचीन ऐतिहासिक स्थल रहदा यहाँ रहेका मूर्त र अमूर्त सम्पदा २०७२ सालको विनाशकारी भूकम्पले क्षतविक्षत बनाउँदा यसको रक्षा गर्दै अघि बढ्न महोत्सव एक विशेष माध्यम बन्ने महर्जनले बताए ।

महोत्सवमा झण्डै ४० देखि ५० प्रदर्शनी कक्ष हुनेछन् । यसमा लाखे नाच, सांस्कृतिक कार्यक्रम, खोकनाको पुराना सामग्री प्रदर्शनी गरिनेछन् । संयोजक महर्जनले भने, “महोत्सव सञ्चालन गर्न महानगरपालिकाले १२ लाख ५० हजार, प्रदेश सरकारबाट दुई लाख ५० हजार र वडा २१ बाट पाँच लाख गरी कूल २० लाख खर्च हुने अनुमान गरिएको छ ।” उक्त तीन दिने महोत्सवले खोकना गाउँलाई अझ महत्वपूर्ण ग्रामीण पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासको साथै नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान खेल्ने भएको छ ।
रासस

Skip This
Skip This
Logo