काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पूरा भएको छ । यतिबेला सरकारको समीक्षा भइरहेको छ । आमसर्वसाधारण र विश्लेषकहरुले प्रधानमन्त्री ओलीको कार्यकाललाई ‘जष्ट पास’ भनेर टिप्पणी गरिरहेका छन् ।
‘हामी राम्रो गरिरहेका छौं भन्दैछौं, तर जनतामा चाहिँ निराशा फैलिएको छ ।’ यो अभिव्यक्ति सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हो ।
प्रचण्डको यस्तो भनाई आएको केही दिनपछि अर्थात् फागुन १ गते ओली सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना गर्नेहरुलाई संकेत गर्दै भने– ‘राम्रो आँखाले हेरे राम्रो देखिन्छ, नराम्रो आँखाले हेरे नराम्रो देखिन्छ ।’
सरकारको प्रभावकारिताको सवालमा प्रचण्डले प्रस्तुत गरेको माथिको भनाईमा आम सहमति रहेको कुरा सामाजिक सञ्जालले समेत पुष्टि गर्छ । तर सरकारी पक्ष भने आलोचना स्वीकार्ने पक्षमा देखिदैन । प्रधानमन्त्री केपी शर्मा ओली समेत सरकारको सकारात्मक काम देख्न र लेख्नलाई ठूलो मुटु चाहिन्छ भनेर दावी गर्छन् ।
अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्र जारी गर्दै अघिल्लो सरकारले ढुकुटी रित्याएको आरोप लगाएका थिए । तर, यो सरकार आउनु अघि नै आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि थियो । बरु बाम गठबन्धनले आफ्नो घोषणा पत्रमा आर्थिक बृद्धिदर दोहोरो अंकमा पु¥याउने उल्लेख गरेको थियो । बाम गठबन्धनको घोषणा पत्रमा उल्लेख गरिएका यस्ता धेरै विषय छन्, जो सरकारले पुरा गर्न सकेको छैन ।
ओली नेतृत्वको सरकार बन्नु अघिको ६ महिनामा १४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक लगानी आएको थियो । यस वर्ष भने ६ अर्ब ५७ करोड रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको छ । सेयर बजारको ओरालो यात्रा पनि सरकारको अर्को नकारात्मक पक्ष हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला































प्रतिक्रिया