‘संवैधानिक आयोगमा सरकारको कुनै हस्तक्षेप छैन’ : प्रधानमन्त्री

‘संवैधानिक आयोगमा सरकारको कुनै हस्तक्षेप छैन’ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेप नगरी निष्पक्ष तरिकाले काम गर्न दिएको बताए ।

‘‘सरकारले अख्तियारलाई दबाब, निर्देशन दिन्छ भनेर मैले सुनेको छु, तर त्यस्तो होइन’’, उनले भने, ‘‘ सरकार संवैधानिक अङ्गलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र त्यसमा हस्तक्षेप गर्ने मनयास पनि राख्दैन, हस्तक्षेप भन्ने प्रश्न नै आउँदैन ।’’ सरकारले संवैधानिक अङ्गका पदाधिकारीलाई कही कतै पनि यसो गर्नुहोस्, उसो गर्नुहोस् नभनेको प्रष्ट पार्दै उनले भने ‘‘सरकार त्यस्ता कुरा कहिल्यै भन्दैन र गर्दैन पनि ।’’

उनले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेप गरेको भन्ने भ्रम छर्ने कोशिस गरिएको भन्दै त्यस्तो कोशिस नगर्न आग्रह गरे । उनले अख्तियारलाई निष्पक्ष र दृढ भएर भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिए ।

भ्रष्टाचारले मुलुकको विकासका आकांक्षालाई कमजोर पारेको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गरे मात्र मुलुक बन्ने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि पहिले आफू प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । ‘‘म प्रतिबद्ध छु, म भ्रष्टाचार गर्दिन, म अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता हुनुपर्दछ, अनि मात्र मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुन्छ’’, उनले भने। उनले भ्रष्टाचारमा निर्लज्जता थपिएको जनाउँदै कहाँ सदाचार र कहाँ भ्रष्टाचार रहेको छ भन्ने छुट्टाउन गाह्रो भएको बताए ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले वक्तृत्वकलामा प्रथम हुने विक्रम पन्थीलाई २५ हजार र कविता प्रतियोगितामा प्रथम हुने पुजन ढुङ्गानालाई २५ हजार र प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए ।
रासस

Skip This
Skip This
Logo