काठमाडौं ।
ट्यांकरबाट इन्धन चोरी नियन्त्रण गर्न नेपाल आयल निगमले प्रत्येक ट्यांकरमा तीन प्रकारका ताल्चा लगाउने भएको छ। निगमले दोस्रो चरणमा डिपोबाट पम्पसम्म इन्धन पुर्याउने ट्यांकरमा ताल्चा जडान गर्न लागेको हो।
यसअघि पहिलो चरणमा इन्डियन आयल कर्पोरेसनको सिलिगुढी, बरौनी र रक्सौल रिफाइनरी केन्द्रबाट नेपाल आयल निगमको डिपोसम्म आउने करिब दुई हजार ट्यांकरमा ताल्चा जडान गरिएको थियो। अब दोस्रो चरणको ताल्चा जडान गर्ने कार्य सुरु गर्न लागिएको हो।
निगमका इन्जिनियरिङ विभागका प्रमुख पूर्ण रिजालका अनुसार ट्यांकरमा ताल्चा जडानका लागि टेन्डर आह्वान गर्न सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको छ। रिजालले भने, ‘ दुई सातापछि टेन्डर आह्वान गर्ने प्रक्रियामा पुगेका छौं। टेन्डर आह्वान गरी आगामी पाँच महिनाभित्रमा सम्पूर्ण ट्यांकरमा ताल्चा जडान गरिसक्छौं।’ उनका अनुसार पहिलो चरण अन्तर्गत भारतबाट नेपालको डिपोसम्म आउने ट्यांकरमा जडान गरिएको ट्यांकरमै दोस्रो चरणमा पुनः तीन प्रकारको ताल्चा जडान गर्न लागिएको हो।
पहिलो चरणको लकिङ प्रणाली जडान पश्चात निगमले इन्धनको चोरीसम्बन्धी घटना नियन्त्रणमा आएको दाबी गरे पनि भारतबाट इन्धन ल्याउने ट्यांकरबाट दुई हजार पाँच सय लिटर डिजेल चोरी भएको थियो।
दोस्रो चरणको ताल्चा प्रणाली र तेस्रो चरणको ट्र्याकिङ प्रणाली जडान पश्चात इन्धनको चोरी नियन्त्रण हुने निगमको दाबी छ। ट्यांकरमा ताल्चा प्रविधि जडान नहुँदासम्म चालकले टेम्प्रेचर लसको नाममा २० हजार लिटरको ट्यांकरबाट झन्डै ४० देखि एक सय लिटरसम्म चोरी गर्दै आएका थिए। ‘पहिलो चरणको ताल्चा जडान पश्चात धेरै हदसम्म चोरी घटनामा नियन्त्रणमा आएको छ’, निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने,‘तर पूर्णरूपमा नियन्त्रण गर्न दोस्रो चरणको ताल्चा जडानका साथै ट्यांकर ट्र्याकिङ गर्ने प्रणाली पनि जडान गर्न आवश्यक छ।’
गोइतका अनुसार निगमको डिपोबाट पेट्रोल पम्पसम्म इन्धन पुर्याउने ट्यांकरमा आफ्नै लगानीमा पेट्रोल, डिजेल र मट्टीतेलको छुट्टाछुट्टै तीन प्रकारको ताल्चा जडान गर्न लागिएको हो। ‘एउटै ट्यांकरबाट पम्पसम्म डिजेल, पेट्रोल र मट्टीतेल गरी तीन प्रकारका इन्धन वितरण हुन्छ’, गोइतले भने, ‘तीनै प्रकारको इन्धनको गुणस्तरमा मिसावट हुन नदिन र विभिन्न बहानामा हुने चोरी नियन्त्रण गर्न तीन प्रकारको ताल्चा जडान गर्दैछौं।’
एउटा ताल्चाको मूल्य करिब साढे ६ हजार रुपैयाँ पर्छ। यसरी एउटा ट्यांकरमा तीनवटा जडान गर्न १९ हजार पाँच सय रुपैयाँ निगमले खर्च गर्नुपर्ने हुन्छ। करिब दुई हजार ट्यांकरमा तीनवटाको दरले ६ हजार ताल्चा जडान गर्न करिब तीन करोड ९० लाख रुपैयाँ लाग्ने निगमले जनाएको छ।
अन्नपूर्णबाट































प्रतिक्रिया