काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजको बुलेटिनमा विभिन्न विषयले स्थान पाएका छन् । कोरोना भाईरसको संक्रमणका कारण नेपाल भ्रमण बर्ष प्रभावित हुन नदिन सरकार र होटेल ब्यवसायीहरुले सतर्कता अपनाउन थालेका छन् । होटल ब्यवसायीहरुको छाता संगठन, होटल एशोसिएसन नेपालले कोरोना भाईरसको संक्रमणबारे सतर्कता अपनाउन आफ्ना सदस्य होटलहरुलाई सुचना जारी गरेको छ भने सरकारले कोरोना भाईरसको त्रासले भ्रमण वर्ष प्रभावित हुन नदिने प्रतिबद्धता जनाएको छ ।
पछिल्लो समय कलाकारहरुको निधनसँगै आर्थिक दयनीयताको समाचार पनि जोडिएर आउने गरेका छन् । निर्माता, वरिष्ठ कलाकार तथा चलचित्र विकास वोर्डका तत्कालीन अध्यक्ष केशव भटट्राईको परिवारको पनि यस्तै दुःखद समाचार सार्वजनिक भएको छ । यतिबेला कलाकारहरुले उनको परिवारका लागि आर्थिक सहयोग संकलन अभियान थालेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यबाट पार्टीको उपाध्यक्षमा बढुवा भएसँगै बामदेव गौतममा देखिएको परिवर्तनले सबैको ध्यान तान्न थालेको छ । गौतमले औपचारिकरुपमै अब आफू संयमित भएर बोल्ने र पार्टीलाई एकताबद्ध गराउन भूमिका खेल्ने बताएका छन् । उपाध्यक्ष बने लगत्तै गौतमको सरकारप्रतिको धारणा पनि सफ्ट बनेको छ ।
नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयले नेपालको संक्रमणकालिन न्याय प्रक्रिया विश्वसनिय ढंगले अघि बढ्न नसकेको बताएको छ । राष्ट्रसंघको आवासिय प्रतिनिधि भ्यालेरी जुलियान्डले पीडितलाई न्याय दिन यस्तो प्रक्रिया परिमार्जन गर्नुपर्ने आवस्यकता औंल्याइन् । न्यायका लागि लामो समयदेखि लड्दै आएकी गंगामाया अधिकारीसँग भेट गर्दै उनले सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।
सरकारले कोरोना भाईरस प्रभावित चिनको वुहान शहरबाट नेपाली नागरिक फर्काउने सम्पुर्ण तयारी पुरा भएको बताएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुको ध्यानाकर्षणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रामक रोग ऐन २०२० अनुसार नेपाली फर्काउन आदेश भईसकेको जानकारी गराए ।































प्रतिक्रिया