ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबको पहिलो हार

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबको पहिलो हार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार भएको खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले पहिलो हार व्यहोरेको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युथ क्लबले मनाङविरुद्ध २–० को जित निकालेको हो । यो हारसँगै मनाङको अपराजित यात्रामा धक्का लागेको छ । यससँगै मनाङको उपाधि चुम्ने यात्रासमेत कमजोर बनेको छ । जापनिज खेलाडी ताइगा नाकामुरा र कप्तान सन्तोष साहुखलले एक एक गोल गरेपछि च्यासलको जित सुनिश्चित भएको हो । खेलको २४ औं मिनेटमा नाकामुराले फ्रिकिङ मार्फत आकर्षक गोल गरेपछि च्यासलले अग्रता लिएको थियो ।

खेलको पहिलो हाफमा १–० को अग्रता लिएको च्यासलले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्न सफल भयो । कप्तान साहुखलले टोलीका लागि दोस्रो गोल गर्दै २–० को जित निकालेका हुन् । यससँगै लिगको दशौं चरणमा पहिलो हार व्यहोरेको मनाङ १० खेलमा १९ अंकका साथ तेस्रो स्थानमा छ भने च्यासल १२ अंकका साथ नवौं स्थानमा उक्लिएको छ ।

यस्तै सोमबार नै भएको पहिलो खेलमा जाउलाखेल युथ क्लबले कठिन जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जाउलाखेलले ब्रिगेड ब्वाइज क्लबमाथि १–० को जित निकालेको हो । जाउलाखेलका लागि सुजित बुढाथोकीले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो । खेलमा ब्रिगेड ब्वाइजले पोजिसन राम्रो लिएपनि गोल पोस्टमा आक्रमण गर्न नसक्दा हार ब्यहोर्नु पर्‍यो ।

यससँगै १० खेलमा जाउलाखेल ४ खेलमा जित र ३ खेल बराबरी खेल्दै १५ अंकसहित छैठौं स्थानमा उक्लिएको छ भने ब्रिगेड ब्वाइज ८ अंकका साथ ११ औं स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo