बालविवाह नरोकिँदा रोल्पामा किशोरी आमाको संख्या बढ्दै

बालविवाह नरोकिँदा रोल्पामा किशोरी आमाको संख्या बढ्दै

केन्द्रबिन्दु
0
Shares

रोल्पा ।

जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन् । आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन् । झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन् ।

लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी हुन् । पढाइ छाडेर सानै उमेरमा बिहे गरेकी जयकला अहिले आफ्ना दौंतरीहरूले विद्यालय गएको देख्दा नरमाइलो मान्छिन् । हाल वैदेशिक रोजगारीमा गएका पतिले पनि खासै नपढेको उनी सुनाउँछिन् । ‘सानैमा बिहे गर्दा पढाइ बिग्रियो, खेल्ने पढ्ने उमेरमा बच्चा हुर्काउनु परेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् बिदेसिए पनि घरपरिवारलाई रिझाएर बस्नुपरेको छ।’ बालविवाह अन्त्य नहुँदा रोल्पामा अझै बर्सेनि जयकलाजस्ता सयौं किशोरी आमा बनिरहेका छन्।

यो त प्रतिनिधि घटना मात्र हो । यस्ता फरकफरक कथा यहाँका अस्पताल वा स्वास्थ्य संस्थामा दैनिक देखिन्छन् । रोल्पा जिल्ला अस्पतालमा यो आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई सय ३८ सुत्केरी भएकोमा ५१ जना २० वर्षमुनिका थिए। ती मध्ये आठजनाको अवस्था जटिल देखिएपछि शल्यक्रिया गर्नुपरेको अस्पतालको तथ्यांकले देखाएको छ।

अस्पतालको तथ्यांक अनुसार अघिल्लो ६ महिनामा औषधि सेवन तथा उपकरण प्रयोग गरेर एक सय एकजनाको गर्भपतन गरिएकोमा सातजना २० वर्षमुनिका थिए। त्यसैगरी विभिन्न महिलाका तीन सय ८६ पटक गर्भ जाँच गरिएकोमा ६२ पटक २० वर्षभन्दा कम उमेरका किशोरीको गर्भ जाँच भएको थियो। त्यसो त यहाँ गर्भनिरोधका साधन प्रयोगकर्तामध्ये २० वर्षमुनिका किशोरी धेरै रहेको तथ्यांकले देखाएको छ।

गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन । बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन । ‘प्रहरीले उजुरी पर्खनु त्यति राम्रो होइन, सुने देखेपछि एक्सनमा जानुपर्ने हो तर रोल्पामा सरोकारवाला सबै निकाय बालविवाहका सवालमा मौन जस्तै देखिन्छन्।’पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन्, ‘जिल्लामा बालविवाह जटिल बन्दै गइरहेको छ।’ स्थानीय तहका जनप्रतिनिधि मतदाता बिच्किने डरले विरोधमा बोल्दैनन्। कतिपय जनप्रतिनिधि त बालविवाहको भोज खानसमेत पुग्ने गर्छन्। हरेक गाउँबाट दर्जनौं बालबालिका मजदुरी गर्न वा बालविवाह गरेका कारण विद्यालय छाड्ने गर्छन् तर स्थानीय सरकारले यस्ता विषयमा ध्यान केन्द्रित गर्न सकेको छैन।
नागरिकबाट

Skip This
Skip This
Logo