काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताएका छन् ।
महानगर र मेलम्ची नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन् । समझदारी–पत्रमा महानगरका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले हस्ताक्षर गरेका छन् । ‘लामो समयदेखि काठमाडौँबासी मेलम्चीको पानी आउने आशामा छन् । काठमाडौँबासी सबैलाई मेलम्चीको नाम थाहा छ,’ प्रमुख शाक्यले भने, ‘आज त्यही नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्दै गर्दा मेलम्ची र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ ।’
शाक्यले मेलम्ची खानेपानी विस्तारको आयोजना सम्पन्न नहुँदा काठमाडौँ महानगरको धेरै बजेट सडक खन्ने र पुर्ने खर्च हुँदै आएको पनि उल्लेख गरे । ‘खानेपानी आयोजना र सडक विस्तारको काम छिटो सम्पन्न भयो भने यहाँका सडकलाई धुलो हिलोमुक्त बनाउन सकिन्छ,’ प्रमुख शाक्यले भने, ‘काठमाडौँ महानगर र मेलम्ची नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरको बीचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुने अपेक्षा पनि लिएका छौँ ।’ उनले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० वटा र मध्यपुर ठिमी नगरपालिकासँग पनि साझेदारी गरिसकेको स्मरण गराए ।
शाक्यले मुलुक भित्रकै स्थानीय तह–स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य महानगरले गरिरहेको भन्दै त्यसले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको महानगर र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबीच भगिनी सम्बन्ध स्थापना गरेको महानगरले जानकारी दिएको छ । ‘जलाधार संरक्षण, स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्ने उद्देश्यले मेलम्ची नगरपालिकासँग सम्बन्ध स्थापना भएको प्रमुख शाक्यले बताए ।
भगिनी सम्बन्ध स्थापना लगत्तै काठमाडौँ महानगरले आ.व.२०७७÷०७८ को स्वीकृत बजेट अन्तर्गत नगर नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न भगिनी सम्वन्ध स्थापना भएको सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीयस्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्ने गरी यो सम्झौता गरेको छ ।
महानगरले समझदारीपछि मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा सम्वोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले काठमाडौँबासीसँग मेलम्चीको सम्बन्ध गहिरो रहेको भन्दै यो सम्बन्धले थप प्रगाढ हुने पनि बताए । उनले काठमाडौँबासीले मेलम्चीको पानी जति सक्दो छिटो उपयोग गर्न पाउन भन्नेमै आफुहरु रहेको भन्दै अर्यालले मेलम्चीबासीका पनि केही माग रहेको र सरोकारवाला निकायसँग छलफल भैरहेको भन्दै त्यसमा सहजीकरण गर्न महानगरपालिकासँग आग्रह गरे । वार्षिक करीब ५० करोडको दूधसँगै दाल, चामल र अन्य तरकारी समेत मेलम्चीबाट काठमाडौँ आउने गरेको स्मरण गराउँदै जनजिवीकाका सवालमा पनि काठमाडौँ र मेचम्चीबीचको भगिनी सम्बन्ध थप प्रगाढ बनाउन सकिने तर्क गरेका छन् ।
काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अघि बढाएको बताइन् । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले पाँचपोखरी, गुफाडाँडा जस्ता पर्यटकीय स्थल र हेलम्बु जाने प्रवेशद्वार पनि मेलम्ची नै भएकाले पर्यटनको प्रशस्त सम्भावना भएकाले भगिनी सम्बन्धले आगामी दिनमा थप सहकार्य गर्न सकिने भन्दै खुशी व्यक्त गरिन् ।
काठमाडौँ महानगरले यस अघि चीनका ६ वटा (ल्हासा, सियान, सेञ्जेन, लाञ्जाउ, चेङ्दु र नान्जिङ्) संयुक्त राज्य अमेरिकाका ४ वटा (युजेन, रोचेष्टर, फ्रेडरिकवर्ग र वोल्डर) सँग यस अघि नै भगिनी सम्वन्ध स्थापना गरिसकेको छ ।
त्यसैगरी काठमाडौँ महानगरपालिकाले जापानको मात्सुमोतो, बेलारुसको मिन्सक, बर्माको यगुनु, गणतन्त्र कोरिया (दक्षिण कोरिया) को सोल, जनवादी गणतन्त्र उत्तर कोरियाको पेङ्वाङ् र गणतन्त्र भारतको वाराणसी नगर महानगरसँग पनि भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । बैङ्ककको थाइल्याण्ड र पाकिस्तानको इस्लामावाद नगरसँग पनि काठमाडौँ महानगपालिकाले भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा अघि बढाएको छ ।































प्रतिक्रिया