यस्ता छन् नेकपाको कन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू

यस्ता छन् नेकपाको कन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको ५ दिनदेखि जारी बैठक आइतबार सकिएको छ । बैठकको अन्त्यमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यरूले उठाएका प्रश्नको जवाफ दिए । बुधबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी संचालनमा भइरहेको कमजोरीबारे नेतृत्वसँग असन्तुष्टि पोख्दै गुटबन्दी अन्त्य गर्न दवाब दिएका थिए । केन्द्रीय सदस्यहरूले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)का सम्बन्धमा पनि पार्टीभित्र गम्भिर छलफलको आवश्यकता औंल्याएका थिए ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)का सम्बन्धमा अध्ययन गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा केन्द्रीय सदस्यहरु भिम रावल र प्रदिप ज्ञवाली छन् । रावलले एमसिसिको विरोधमा आवाज उठाउँदै आएका छन् भने ज्ञवालीले एमसिसि संसदबाट अनुमोदन गर्नुपर्ने धारणा राख्दै आएका छन् । गत बुधबारदेखि जारी नेकपा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले एमसिसि सम्झौता परिमार्जन नगरी अनुमोदन गर्नु नहुने तर्क राख्दै एमसिसिबारे पार्टीले साझा धारणा बनाउनुपर्ने माग गरेका थिए ।

केन्द्रीय कमिटी बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक तथा विधान संशोधन प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । महासचिव विष्णु पौडलले पेश गरेको विधान संशोधनमा उपाध्यक्ष पद थप गर्ने प्रस्ताव गरिएको थियो । केन्द्रीय कमिटीले पार्टी नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालय बैठकको निर्णय पनि अनुमोदन गरेको छ । यससँगै गौतम अब नेकपाका उपाध्यक्ष बनेका छन् ।

अध्यक्षको राजनीतिक प्रतिवेदनमा रहेको ‘इन्डोप्यासिफिक रणनिति अमेरिकाले चीनलाई घेर्न ल्याएको’ भन्ने वाक्य भने फेरिने भएको छ । पार्टीको राजनीतिक दस्तावेजमा कुटनीतिक मर्यादा अनुकुलको शब्द राख्न केन्द्रीय सदस्यहरूले सुझाएका थिए । अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पारित हुनुअघि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । अध्यक्ष प्रचण्डले नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मेवारी पार्टीको अनुशासन आयोगलाई दिने बताए । आयोगले नै सम्पत्ति छानविन गर्नुका साथै पार्टीभित्र अनुशासन पालना गराउने प्रचण्डको भनाइ थियो ।

यसैगरी नेकपा केन्द्रीय कमिटीले अतिक्रमित भुभाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका अतिक्रमित भुभाग समेटेर नयाँ नक्सा बनाउनुपर्ने भन्दै नेकपाले सरकारको ध्यानाकर्षण गराएको हो । यसैगरी नेकपाले नेपाल ट्रष्टको नाममा रहेका जग्गा यती होल्डिङ्ग्सलाई दिएको सन्दर्भमा श्वेतपत्र जारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । ट्रष्टको सम्पत्तिबारे भएको निर्णयका सम्बन्धमा सम्पूर्ण विवरण श्वेतपत्रमार्फत सार्वजनिक गर्न ट्रष्टका अध्यक्ष समेत रहेका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई निर्देशन दिइएको अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका थिए ।

Skip This
Skip This
Logo