एनसेल चार किस्तामा कर तिर्न तयार

एनसेल चार किस्तामा कर तिर्न तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन ठूला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राजश्व सचिव ढुंगानाले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको २० प्रतिशत रकम भूक्तानी गरिसकेको र बाँकी ८० प्रतिशत जुन महिनाभित्र चार किस्तामा तिर्ने प्रतिवद्धता सहितको पत्र ठूला करदाता कार्यालयमा पठाएको बताएका हुन् । उनले सर्वोच्च अदालतको ०७६ भदौ ९ गतेको आदेशले ०७६ मंसिर १९ गते आयकर ऐन ०५८ को दफा १ सय २० बमोजिम पूँजीगत लाभकर बापत २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा निर्धारण गरेको बताए । त्यससँगै ०७६ पुस ६ गते एनसेललाई लाभकर बुझाउन ठुला करदाता कार्यालयले पत्राचार गरेको र ०७६ पुस १५ गते एनसेलले ४ अर्ब ५० करोड बुझाएको उनले बताए ।

त्यससँगै एनसेलले बाँकी रकम सन् २०२० को जुन महिनासम्म किस्तामा तिर्नपाउँ भनी पत्र पठाएको समेत उनले बताए । उनले एनसेलले मार्च महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ, अप्रिल महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ, मे र जुन महिनाको अन्त्यमा पनि चार अर्ब ५४ करोड रुपैयाँको दरले गरी चार किस्तामा कुल १८ अर्ब १८ करोड रुपैयाँ भुक्तानी गर्ने सुचिसहितको पत्र पठाएको तर ठूला करदाता कार्यालयले त्यसको जवाफ नपठाएको बताए । उनले एनसेलले समयमा लाभकर भुक्तानी नगरेकाले भुक्तानी गर्न बाँकी रकममा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने समेत बताए ।

बैठकमा सांसदहरुले एनसेलले तिर्न बाँकि लाभकरमध्ये २० प्रतिशत भुक्तानी गरेको र बाँकी रकम किस्तामा तिर्ने बताएपनि असुल हुने सुनिश्चितता भए नभएको जानकारी गराउनुपर्ने बताएका छन् । सांसद प्रेम बहादुर आलेले एनसेलले किस्तामा भुक्तानी गर्ने बताएपनि त्यसको सुनिश्चितता नभएसम्म ताकेता गरिरहनुपर्ने बताए ।

सांसद राजेन्द्र कुमार केसीले ठुला करदाता कार्यालयले कहिले ४२ अर्ब, कहिले ६८ अर्ब, कहिले ६३ अर्ब कर निधारण गरिरहेको छ । तर अहिले फेरी २२ अर्ब निर्धारण गरेको छ । अदालतले निर्धारण गरिदिएको या ठूला करदाता कार्यालयले आफैं निर्धारण गरेको हो स्पस्ट नभएको बताए । उनले कर निर्धारण फरक फरक हुनुको जवाफ मन्त्रालयले दिनुपर्ने समेत बताएका थिए ।

सांसदहरुको प्रश्नको जवाफ दिदै राजश्व सचिव ढुङ्गानाले ठूला करदाता कार्यालयले निर्धारण गरेको ६२ अर्ब ६३ करोड लाभकर मध्ये एनसेलले ०७४ जेठ २१ गतेसम्म २३ अर्ब ५७ करोड रुपैयाँ तिरिसकेको र बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ भूक्तानी गर्दिन भन्दै सर्वोच्च गएपछि सर्वोच्च अदालतको पूर्णपाठले कर कार्यालयले लगाएको दफा १ सय २० ‘क’ को व्यवस्था अनुसारको थप जरिबाना नलगाउन आदेश दिएको बताए । सोही अनुसार एनसेललाई १७ अर्ब ९५ करोड रुपैयाँ थप जरिबाना नलगाई २१ अर्ब ११ करोड रुपैयाँ कर निर्धारण गर्दाको दिनसम्मको बाँकी रकमको ब्याजसमेत हिसाब गरी निर्धारण गर्न आदेश भए अनुसार २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा लाभकर निर्धारण भएको राजश्व सचिव ढुङ्गानाले बताए ।

Skip This
Skip This
Logo