काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन् ।
कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन् । पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षीत रहेको बताए ।
चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन् ।
‘आवश्यक प¥यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, उनले भने ।
बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएकोले चिनियाँ अधिकारीहरुले आफुहरुलाई विश्वस्त बनाएको उनले बताए-‘कतिपय शक्तिराष्ट्रहरुले आफ्नो स्वार्थपूर्तिका लागि भयावह अवस्था सिर्जना गर्ने, आतंक मच्चाउने गरेको दृष्टन्त दिनुभयो । ‘यहि होला भन्न त सकिन्न तर धेरैले आफ्नो स्वार्थपूर्तिका लागि यस्तो प्रचार गर्नेगर्दछन् हामी जोगिनुपर्छ ।’
विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । विरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ । भाइरसको प्रकोप फैलिदै गएपछि विश्वस्वास्थ्य संगठनले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।





























प्रतिक्रिया