नेकपाकाे केन्द्रीय समिति बैठकमा एमसीसीबारे आधिकारिक धारणा माग

नेकपाकाे केन्द्रीय समिति बैठकमा एमसीसीबारे आधिकारिक धारणा माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरिएको छ ।

बैठकमा विभिन्न १५ वटा समूह बनाएर समूहगत छलफल चलाइएको थियो । समूहहरुको छलफलमा एमसीसीका विषयमा तल्लो तहसम्मका कार्यकर्ताहरूले बुझ्ने गरी पार्टीको आधिकारीक धारणा माग गरिएको हो ।

नेकपा केन्द्रीय सदस्य गंगालाल तुलाधरले विज्ञ समूह नै बनाएर एमसीसीका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने माग समूहगत बैठकमा उठेको बताउनुभयो । पार्टीभित्र एमसीसीका विषयमा धारणा राख्दै नेताहरुले महाकाली सन्धिपछिको अवस्था आउन नदिन शीर्ष नेताहरुलाई चेतावनी समेत दिएका छन् । पार्टीले उपयुक्त समयमा एमसीसीको विषयमा प्रष्ट गर्न नसक्दा समस्या उत्पन्न भएको निष्कर्ष सहित केही सदस्यहरुले अध्ययन समूह बनाएर जानुपर्नै धारणा राखेको उनले बताए । ‘हिजो महाकालीको विषयले पार्टी फुटेको अवस्था छ । अहिले एमसीसीको विषयले पनि नेकपालाई त्यही ठाउँमा लैजान्छकी भन्ने आशंका भएका छन् । त्यसैले एमसीसी के हो ? भन्ने कुरामा स्पष्ट हुनुनपर्छ भन्ने कुरा आएका छन्’, उनले भने ।

अर्का केन्द्रीय सदस्य सुरेश कुमार राईले सबै समूहमा एमसीसीका विषयमा तीन प्रकारका धारणा आएको बताए ‘यो नेपालको हितमा छ समितिबाट पास गरेर सरकारले कार्यान्वयनमा लैजानुपर्छ भन्ने एउटा धारणा । अमेरिका जस्तो शक्तिशाली राष्ट्रले नेपाललाई यति ठूलो सहयोग गर्नुको रहस्य के हो ? भन्ने आंशंका भइरहेको बेला पार्टीले स्पष्ट पार्नुपर्ने र पार्टीको तल्लो तहसम्म भएको अनावश्यक बसह नराम्रो भएको धारणा आएको छ ।’

यस्तै केन्द्रीय सदस्य शिवनारायण यादवले पार्टीको आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्ने धारणा विशेषगरी आएको बताए । एमसीसीको विषयमा दुई थरी कुरा आएको बताए, ‘एउटा विपन्न राष्ट्रलाई अमेरिकाले दिने सहयोग भनेर प्रचार प्रसारमा आएको छ । यो विषयमा पार्टीले उच्च स्तरिय समूह बनाएर वास्तविक कुरा ल्याउनुपर्छ । जनताको हितमा छ भने सहयोग स्वीकार गर्नुपर्ने तर राष्ट्रलाई अहित गर्छ भने लिनु हुन्न भन्ने कुरा आएको छ ।’

यस्तै अर्का केन्द्रीय सदस्य कमला रोक्काले एमसीसीका विषयमा पार्टीको धारण एउटै बनाएर जानुपर्ने विषयमा कुराहरु उठेको बताइन् ।

यसैगरी दिनानाथ शर्माले आफ्नो समूहभित्र राजनीतिक, संगठनात्मक र विधान संशोधनको जुन गतिमा आएको छ, त्यो सबै राम्रो छ भन्ने निष्कर्ष निस्केको बताए ।

नेकपाको बैठकमा शुक्रबारबाट समूहगत छलफलमा उठेका विषयहरुलाई समूह नेताहरुले प्रस्तुत गरिरहेका छन् । शुक्रबार ४ वटा समूह र प्रदेश अध्यक्षहरुले आफ्नो प्रस्तुति राखेका थिए । बैठक शनिबारपनि जारी रहने छ ।

Skip This
Skip This
Logo