सरस्वती पूजामा आज राष्ट्रपतिबाट वसन्त श्रवण

सरस्वती पूजामा आज राष्ट्रपतिबाट वसन्त श्रवण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हिन्दु वैदिक सनातन धर्मावलम्बीहरुले माघ शुक्लपञ्चमीका दिनलाई विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आराधना गर्ने गर्दछन् ।

नेपाल लगायत हिन्दु धर्ममा विश्वास गर्नेहरुले ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजा गर्ने प्रचलन रहि आएको छ । धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिए अनुसार, माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले प्राणी सृष्टिका लागि देवी सरस्वतीलाई आह्वान गरेपछि उनी पृथ्वीमा अवतरित भएको विश्वास गरिन्छ ।

आज देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । यस दिनमा विवाह गर्न, नयाँ भवनमा बास सर्न लगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।

राष्ट्रपतिबाट वसन्त श्रवण

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज हनुमानढोका दरबार गइ वसन्त श्रवण गरिएको छ ।

हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । आज बिहान ९ः०५ बजेको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी हुन् । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले राष्ट्रपतिलाई बसन्त श्रवण गराएका थिए ।

श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ । नेपालमा राष्ट्राध्यक्ष लगायत सरकार प्रमुख सबैले हनुमानढोका दरबारको नासल चोकमा बसन्त श्रवण गर्ने चलन छ । आजबाट बसन्त ऋतु सुरु भएको मानिन्छ ।

Skip This
Skip This
Logo