वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी : अर्थमन्त्री

वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी : अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन् । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्व टोलीले बुधबार अर्थमन्त्रालयमा आफूसँग गरेको भेटवार्तामा उनले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक स्रोतको आवश्यकता रहेको प्रष्टयाए ।

भेटमा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए । उनले प्रत्यक्ष वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढाइएको, ‘च्यालेन्ज फण्ड’को शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानून निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताए ।

अर्थमन्त्री डा खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र ऊर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धिसँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताए । उनले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताए ।

मुलुकको समग्र विकासका लागि नवप्रवर्तन, अन्वेषण तथा युवा लक्षित सीप र प्राविधिक ज्ञानको सहयोगमार्फत साना मझौला व्यावसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको उनले स्पस्ट पारे । उनले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालन मार्फत नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पारे ।

सो अवसरमा फ्राइडेन नेतृत्वको टोलीले नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरेको थियो । भेटमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन कपेलर तथा स्वीस इन्भेष्टमेन्ट फण्डका प्रतिनिधिको उपस्थिति रहेको अर्थमन्त्रालयले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo