काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा आफू रहेको बताएका हुन् । उनले पार्टीको कामको चापले त्यति धेरै तयारी गर्न नपाएको समेत बताए ।
पार्टीको केन्द्रीय कमिटी बैठक माघ १५ देखि २० गतेसम्म डाकिएको छ । उनले अझै पनि सबै उत्पीडित वर्ग, जाति, समुदाय, भाषा पूर्णरूपमा मुक्त हुने कुरा बनि नसकेको बताए । “उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन”, उनले भने, “एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे खोजे जस्तो मुक्ति हासिल गर्न सक्छौँ ।”
संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको उल्लेख गर्दै उनले आदिवासी जनजातिको हक अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको धारणा राखे । उनले सबै खालको विभेदको अन्त्य गरी समतामूलक सामाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने बताए ।
अध्यक्ष दाहालले साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा लड्न आवश्यक रहेको धारणा राखे । बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्ने उनको भनाइ थियो । शोषण उत्पीडनमा परेका समुदायलाई अगाडि ल्याउने वातावरण नबनाएसम्म समानताको कुरा गर्नु भ्रम मात्र रहेको उनको धारणा थियो ।
कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले पार्टीले सबै उत्पीडित वर्ग र जातिको हकअधिकार र मुक्तिको आन्दोलन गर्दै आएको बताए । उनले जातीय हक अधिकार स्थापित गरेर मुलुकमा समृद्धि ल्याउने बताए ।
सो अवसरमा अध्यक्ष दाहालले नवगठित कार्यसमितिलाई शपथ खुवाएका थिए । तत्कालीन नेकपा (एमाले) को नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र नेकपा (माओवादी केन्द्र) आदिवासी जनजाति राष्ट्रिय महासङ्घबीच एकता भई २६१ सदस्यीय आदिवासी जनजाति महासङ्घ नेपाल बनेको हो ।
रासस































प्रतिक्रिया