काठमाडौं ।
नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता वितरण र छानबिन तथा गाउँ÷नगर वडा अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिकामा परिमार्जन गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
परिमार्जित निर्णय अनुसार गाउँ/नगर वडा अधिवेशन ०७७ कात्तिक १६, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ र एक भन्दा बढी भएकाको जिल्ला अधिवेशन कात्तिक २५ र प्रदेश अधिवेशन मङ्सिर २९ गते हुनेछ । पार्टीको १४ औँ केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएको मिति ०७७ फागुन ७ देखि १० गते काठमाडौँमा नै गर्ने बैठकले निर्णय गरेको छ ।
साथै बैठकले माघ मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने, आगामी फागुनदेखि चैत मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने, ०७७ वैशाख मसान्तभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने निर्णय गरेको छ ।
यसैगरी ०७७ जेठ १५ भित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिने, जेठ मसान्तभित्र उजूरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नु पर्नेछ ।
वि.सं. ०७७ असार १५ भित्र क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिइसक्नु पर्ने, साउन १५ भित्र उजूरीउपर केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नु पर्ने, साउन २५ भित्र नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाइसक्नु पर्नेछ । साउन मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने निर्णय भएको उनले बताए ।
पार्टीको विधान बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति” ले गर्ने कार्यसम्पादन गर्न सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र सभापतिले समितिका संयोजक तथा सदस्यको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय गरिएको छ । पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका दफा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले बताए । केन्द्रीय कार्यसमितिको अर्को बैठक माघ २३ गते दिउँसो २ बजे बस्नेछ ।
रासस





























प्रतिक्रिया