काठमाडौं ।
जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका सहिद धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ । माथेमालाई तत्कालिन शासकले झुण्ड्याएर मृत्युदण्ड दिएको सिफलको उकालो बकाइनाको रुख भएकै स्थानमा उनको पूर्णकदको शालिक निर्माण भएको हो । काठमाडौँ महानगरपालिकाले निर्माण गरेको सो शालिक आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन् ।
करीब १७ लाखको लगानीमा निर्माण भएको सो शालिकको अनावरण गर्दै मेयर शाक्यले जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्ने चार शहीद अहिले पनि हरेक नेपालीको मन–मुटुमा रहेको स्मरण गरे । ‘उहाँहरुले (चार शहीद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर) मेरो र मेरो परिवारका लागि होइन राष्ट्र र जनताका लागि केही गर्नुपर्छ भन्ने निस्वार्थ भावनाले तत्कालिन राणा शासनका विरुद्धमा आन्दोनल गर्नुभयो,’ मेयर शाक्यले धर्मभक्तको पूर्णकदको शालिक अघिल्लतिर उभिएर चार शहीदको सम्झना गर्दै भने, ‘उहाँहरुले आफ्ना लागि केही माग्नु भएन । जति माग्नु भयो देश र जनताका लागि माग्नुभयो, त्यसकारण पनि हामी उहाँलाई सम्झिरहन्छौैँ र हाम्रो पुस्ताले पनि उहाँहरुलाई सम्झिरहनुपर्छ ।’
मेयर शाक्यले अहिले पनि म र मेरो परिवार भन्दा पनि राष्ट्र र जनताका लागि भनेर संघर्ष गर्नेहरुको सङ्ख्या निकै थोरै भएको भन्दै त्यतिबेला आफ्नो परिवारको सन्तान गुमाउने शहीद परिवारको सम्मानका लागि पनि महानगरपालिकाले चार शहीदका पूर्णकदका शालिक लागि निर्माण गर्ने योजना बनाएको बताए । ‘हामीले आज यहाँ धर्मभक्तको पूर्णकदको शालिक निर्माण गरेका छौँ,’ शाक्यले भने, ‘अब माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई गोली हानेर मृत्यु दण्ड दिएको शोभा भगवतीमा उहाँहरुको पूर्णकदको शालिक अनवरण गर्ने कार्यक्रम छ ।’
सहिद सप्ताह मुल समारोह समितिका संयोजक समेत रहेका मेयर शाक्यले शहीदहरुको सम्झनामा महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमकै आयोजना गरेको पनि बताए ।































प्रतिक्रिया