त्रासमा नबस्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

त्रासमा नबस्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रीत नभएकाले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

आइतबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेको तर सरकार व्यवसायीलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा नरहेको बताएका हुन् । उनले भने ‘व्यापार घाटा कम हुन थाल्यो अलिकती आयातित वस्तुहरु कम हुँदा राजश्व पनि कम हुन थाल्यो अर्को त्रास, फेरी राजश्व कम भयो अव सरकारले डण्डा लगाएर कहाँबाट राजश्व उठाउँछ भन्ने अर्को त्रास, हामी त्यसो गर्दैनौं ।’

उनले सरकारले जति कर लाग्ने आय हो त्यतिमा मात्रै राजश्व उठाउने लक्ष्य रोखकाले व्यवसायीहरुलाई नडराउन आग्रह गरे । उनले भन्सार राजश्वमै केन्द्रीत भएर अर्थतन्त्र लामो समयसम्म चल्न नसक्ने बताए । अर्थमन्त्री खतिवडाले आन्तरिक राजश्वको वृद्धि दर पनि बढ्दै गएकाले मुलुक आयातमा आधारित राजश्व प्रणालीबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारीत राजश्व प्रणालीमा गइसकेको बताए । उनले भने ‘भन्सार राजश्वमै केन्द्रीत भएर अव हाम्रो अर्थतन्त्र लामो समय चल्दैन आन्तरिक राजश्वको वृद्धि राम्रो छ , व्यवसायीक क्षेत्रलाई धन्यवाद औसतमा २५ प्रतिशतको वृद्धि छ । मूल्य वृद्धिदर र आन्तरिक भ्याटको वृद्धिदर त्यो भन्दा राम्रो छ । हामी क्रमशः आयातमा आधारित राजश्व प्रणालीबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित राजश्व प्रणालीमा उन्मुख हुँदैछौं ।’

अर्थमन्त्री खतिवडाले लक्ष्य अनुरुपको राजश्व नउठ्दा समेत आफू नडराएको बताए । उनले विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामै राम्रो रहेको र पछिल्लो समय बैंक ब्याजदर पनि तल रहेकोले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताए । उनले राजश्वमुखि भन्सार प्रणाली भयो भन्ने गुनासो आउने गरेको र त्यसलाई सुधार गर्न मुलुकभित्र लगानी वृद्धि गरी उत्पादन बढाउने र निर्यात बढाउने लक्ष्य सरकारले राखेको बताए ।

Logo