बेइजिङ ।
‘कोरोना भाइरस’ नाम दिइएको रहस्यमयी रोगका कारण चीनमा १७ जनाको मृत्यु भइसकेको चिनियाँ अधिकारीले बताएका छन् ।
बुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन सिसिटिभीलाई दिएको अन्तर्वार्तामा ‘कोरोना भाइरस’बाट सोमबारसम्म चार जनाको मृत्यु भएकोमा मंगलबार थप दुई र बुधबार अन्य गरि १७ जनाको ज्यान गएको बताएका छन्।
चीनको मध्य क्षेत्र बुहान सहरमा केही हप्ताअघि ‘कोरोना भाइरस’को संक्रमण देखिएको थियो । उनका अनुसार उक्त रोगबाट प्रभावित हुनेको संख्या २९१ पुगेका साथै सोमबार र मंगलबार गरी थप ८० बिरामी उपचारका लागि अस्पतालमा पुगेको उनले बताए । बुधबारसम्म संसारभर ५८२ जनामा यो भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको छ । त्यसमध्ये ५७१ जना चिनियाँ छन् ।
रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलिएका खबरसँगै सावधानीका लागि एसियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षणलाई कडा बनाइएको छ।
कोरोना भाइरस संक्रमण बढेपछि चीन सरकारले वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिदिएको छ। आज बिहानदेखि त्यहाँका बस, रेल, विमानस्थल, होटल, रेष्टुरेन्ट लगायत बन्द गरिएका छन्।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोना भाइरस’ मानवबाट मानवमा सर्न सक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाई यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन्।
सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित तुल्याएको छ।
पछिल्लो समय देखा परेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरिएको छ । रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ।
नेपालमा उच्च सर्तकता
कोरोना भाइरसका कारण चीनमा १७ जनाको मृत्यु भएपछि नेपालमा पनि यसको सर्तकता अपनाउन थालिएको छ । चीनसँग जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य परिक्षण गरिने भएको छ । रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने जो सुकैको पनि स्वास्थ्य परिक्षण गर्न शुरु गरिने भएको छ । सो नाकामा हेल्प डेस्कमा आवश्यक स्रोत साधनसहितको अनुभवि दक्ष जनशक्तिलाई ३ दिनभित्र नै परिचालन गरिने जिल्ला समन्वय समिती रसुवाले जनाएको छ । एएफपी































प्रतिक्रिया