नुवाकोटको त्रिवेणी धाममा माघ १६ देखि महायज्ञ हुने

नुवाकोटको त्रिवेणी धाममा माघ १६ देखि महायज्ञ हुने

केन्द्रबिन्दु
0
Shares

नुवाकोट ।

धार्मिक पर्यटनका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले नुवाकोटका शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा माघ १६ देखि २४ सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न लिखु, सत्यावती (स्यालपिङ) र कन्यावती (खहरे) को सङ्गमस्थलमा महायज्ञ गर्न लागिएको त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाले जनाएको छ । एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको सो महायज्ञमा श्रीमद्भागवतका साथै बौद्ध धर्मसम्बन्धी प्रवचनसमेत गरिने आयोजक संस्थाले जनाएको छ । महायज्ञमा ईश्वरकृष्ण महाराजले भागवत कथा वाचन र बौद्ध धर्मगुरु खेम्पो कमल भण्डारीले विशेष प्रवचन दिने कार्यक्रम छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका संरक्षक तथा शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले भौगोलिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण त्रिवेणी धामको विकास र प्रचारप्रसार गर्न अनुष्ठान आयोजना गरिएको बताए । धार्मिक पर्यटनका माध्यमबाट सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा हासिल गर्न र भ्रमण वर्षलाई सफल बनाउन पनि महायज्ञले सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे । धार्मिक तथा पौराणिक महत्वको उत्तरप्रयाग त्रिवेणी धाममा धार्मिक पर्यटन प्रवद्र्धन गर्न धर्मशाला, विभिन्न देवीदेवताका मन्दिर, ध्यान केन्द्रका साथै बौद्धमार्गीका लागि गुम्बा निर्माण गर्ने काम हुने उनको भनाइ थियो ।

त्रिवेणी धाम तथा संरक्षण संस्थाका अध्यक्ष लिलादेवी थापाले महायज्ञ पवित्र उद्देश्यले गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गरे । त्यस्तै संस्थाका उपाध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका प्रचारप्रसार संयोजक रामचन्द्र पाठकले त्रिवेणी धामलाई महत्वपूर्ण धार्मिक पर्यटनस्थलको रुपमा विकास गरिने उल्लेख गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट क्षेत्र नं १ का संयोजक पदम उप्रेतीले मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिइरहँदा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्छ भन्ने मान्यताका साथ महायज्ञ आयोजना गरिएको बताए। “पुर्खाले अन्त्येष्टिका लागि मात्र प्रयोग गर्ने गरेको धामलाई अब धार्मिक केन्द्र बनाउछौँ”, उनले भने, “मुलुकको विकासका साथै समृद्ध नुवाकोट निर्माण गर्न पनि महायज्ञ सफल हुनेछ ।”

हिमवत् खण्डमा त्रिवेणी धाम

त्रिवेणी धाम नुवाकोट, शिवपुरी गाउँपालिकास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको शिवपुरीमा उद्गमस्थल रहेको सत्यवती, शिवपुरीकै चिसापानी भएर बग्ने लिखु र पञ्चकन्या गाउँपालिकाको इन्द्रेणी छहरा उद्गस्थल भएको कन्यावती खोलाको सङ्गमस्थल हो । यो शिवपुरी गाउँपालिकाका वडा नं ६ र ७ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ५ मा पर्छ ।

‘हिमवत खण्ड’मा उल्लिखित सो धाम समुद्री सतहबाट ७०० मिटर उचाइमा छ । राजधानी काठमाडौँबाट २५ किमी उत्तर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट ३० किमी पश्चिम र नुवाकोट सदरमुकाम विदुरदेखि २० किमी पूर्वमा त्रिवेणी धाम छ । सो धाममा पौष कृष्ण औंसीमा स्नान गर्नाले पुण्य मिल्ने जनविश्वास छ । यस्तै यहाँ पितृको श्राद्ध गर्नाले मोक्ष प्राप्त गर्छन् भन्ने मान्यता छ । त्रिवेणी धाममा कात्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीका दिन तथा मकर सङ्क्रान्तिका दिन स्नान गर्नाले पुण्य मिल्छ भन्ने पौराणिक विश्वास छ ।

Skip This
Skip This
Logo