बाजुराको बडिमालिकाका वडा सदस्य चरेससहित पक्राउ

बाजुराको बडिमालिकाका वडा सदस्य चरेससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाजुरा ।

बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउ पर्नेमा बडिमालिका नगरपालिका–९ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् । उनीहरुलाई प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

घरेलु मदिरा बरामद

जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रका विभिन्न ठाउँबाट अवैध घरेलु मदिरा बरामद गरी सोमबार नष्ट गरिएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको ४२४ लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

उनले जिल्लामा मदिरासेवन गरी होहल्ला गर्ने १६ जनालाई नियन्त्रणमा लिई कारवाही गरिएको बताए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले छाउपडी गोठ भत्काउने मदिरा नियन्त्रण गर्ने लगायतका कार्यलाई सक्रियताका साथ लागू गर्दै आएको छ ।
रासस

Logo