खुलामञ्चबाट गाडी हटाउने ब्यानर हट्यो तर गाडी हटेन

खुलामञ्चबाट गाडी हटाउने ब्यानर हट्यो तर गाडी हटेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । माघ लाग्ने बित्तिकै ‘माघ १ देखि पार्किङ निषेध’ लेखिएको व्यानर खुलामञ्चको उत्तरपट्टिको गेटबाट हटेको छ । त्यस्तै पश्चिमतर्फको ब्यानर पनि हटाइएको छ । तर ब्यानरमा भनिए झैँ निषेध गरिएका गाडी भने अहिले पनि निर्वाध रूपमा पार्किङ गरिएका छन् ।

एक हप्ताअघि मात्र काठमाडौं महानगरपालिका वडा नम्बर २८ ले माघ १ गतेदेखि खुलामञ्चमा पार्किङ गर्न नपाइने सूचनासँगै व्यानर टाँस गरेको थियो । उक्त सूचना कार्यान्वयन गर्न नसकेपछि वडाले नै व्यानर हटाएको हो ।

अकुपाइ टुँडिखेलका अभियन्ताहरूको अनुरोधपछि खुलामञ्चमा सूचना टाँस गरी पार्किङ निषेध गरेको भए पनि कार्यन्वयन गर्न नसकेपछि व्यानर हटाइएको काठमाडौं महानगरपालिका–२८ का वडाध्यक्ष भाइराम खड्गीले स्वीकारे । गत पुस मसान्तसम्म टाँगिएको खुलामञ्चको उत्तर र पश्चिमतर्फको ब्यानर समेत हटाइसकेको उनले बताए ।

खुलामञ्चको उत्तरपट्टि बसपार्क बनाइएको छ । बाँकी रहेको बीच भागमा वीर अस्पतालको पार्किङ स्थल छ । यहीँ नै निर्माणाधीन अस्पतालका कामदारहरूको अस्थायी टहरा छ भने बालुवा र गिट्टी समेत थुपारिएको छ । खुलामञ्चको दक्षिणतिरको भागमा दरवार हाईस्कुल बनाउने सांघाई कन्स्ट्रक्सन ग्रुपको सम्पर्क कार्यालयसँगै निजी सवारीसाधन पार्किङ गरिएको छ ।

वडाध्यक्ष खड्गीका अनुसार अस्तव्यस्त पार्किङ भएको पाइएकाले सार्वजानिक यातायात पार्किङ स्थलबाहेक अन्य भाग खाली गर्न सूचना टाँस गरेको तर टाँस गरेको सूचना र टाँगिएको व्यनरले काम गर्न नसक्नुका साथै महानरपालिकासँग अनुमति मागेर नै अस्थायी टहरा र अस्थायी पार्किङ गर्दै आएको सांघाई कन्स्ट्रक्सनलाई हटाउन नसकेपछि वडा आफँै पछि हटेको हो ।

पार्किङ हटाउने र नहटाउने विषयमा विगतदेखि नै महानगरपालिकाको कार्यालय र वडा कार्यालयबीच मतभेद भइरहेको थियो । महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले यसअघि नै निर्माण कार्यको लागि स्टोर र पार्किङ गर्न सांघाई कन्स्ट्रक्सनले मागेको हुँदा निर्माण सम्पन्न नभएसम्म प्रयोग गर्ने र निर्माण सम्पन्न भएपछि महानगरपालिकासँगको सम्झौता स्वतः सकिएर महानगरपालिकाले निर्णय गरेर हटाउने बताएका थिए । महानगरपालिकाका अनुसार निर्माण भइरहेको वीर अस्पतालको भवन र दरवार हाई स्कुलको भवन सांघाई कन्स्ट्रक्सनकै ठेक्कामा बन्दै गरेकाले दुवैपट्टिको लागि महानगरपालिकाले अस्थायी रूपमा पार्किङ स्थल बनाउन दिइएको हो ।

महानगरपालिका वडा नम्बर २८ ले गरेको हटाउने निर्णय कार्यान्वयनमा ल्याउन नसकेपछि पुुनः माघ ६ गते सोमवार बैठक बसेर अर्काे निर्णय गर्न लागेको वडाध्यक्ष खड्गीले बताए । भोलिको बैठकपछि मात्र के गर्ने भनेर थाहा हुने उनले बताए ।

Skip This
Skip This
Logo