वर्षाले भक्तपुरमा नौ करोडका इँटा नष्ट

वर्षाले भक्तपुरमा नौ करोडका इँटा नष्ट

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएका भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्वाले जानकारी दिए ।

उनले भने, “पोल्नलाई तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा इँटाभट्टामा कम्तीमा आठ लाख र बढीमा नौ लाखको सङ्ख्यामा काँचो इँटा नष्ट भएका छन्, अब पोल्ने इँटा नै छैन, भट्टामा आगो जोगाउनै मुस्किल प¥यो ।” इँटा नष्ट हुँदा व्यवसायीलाई करीब नौ करोड बराबरको नोक्सान भएको अध्यक्ष ह्याम्वाले जानकारी दिए ।

काँचो इँटा नहुँदा भट्टाको आगो निभाउनु पर्ने अवस्था सृजना भएकाले झन जोखिम बढेको बताउँदै उनले आगो जोगाउन इँटा नभए पनि कोइला हालिरहनु पर्ने भएकाले दोहोरो खर्च बढेको बताए। पुरानो इँटा मौज्दात भएकाले तत्काल इँटाको अभाव पनि नहुने र मूल्य पनि नबढ्ने उल्लेख गर्दै उनले व्यवसायीलाई समस्या परेकाले नगरपालिका र सरकारसँग कर छुट दिन माग गरे ।

वर्षाका कारण व्यवसायीलाई मात्रै नभई मजदूरलाई समेत निकै नोक्सान पु¥याएको छ । चाङ लगाएको इँटामा ३३ प्रतिशित नोक्सानी मजदूरले बेहोर्नु पर्ने व्यवस्था गरिएको छ । वर्षाले हुने क्षतिमा भुइँमा भएका र सुकाएका इँटाको सम्पूर्ण नोक्सानी मजदूरले बेहोर्नुपर्ने र चाङ लगाएका इँटाको नोक्सानी भने ६७ प्रतिशत व्यवसायी र ३३ प्रतिशत मजदूरले बेहोर्नु पर्ने व्यवस्था छ ।

इँटाभट्टाका मजदूर भकुण्डेबेँसीका रामबहादुर विकले वर्षाले इँटा नष्ट हुँदा निकै मारमा परेको बताए । उनले साहुले जिम्मा नलिएको इँटाको नोक्सानी सबै आफैँले बेहोर्नुपर्ने भएकाले यहाँका सबै इँटाभट्टाका मजदूर इँटा नष्ट हुँदा मारमा परेका बताए ।
रासस

Skip This
Skip This
Logo