पूर्वमा पनि पेट्रोलियम पाइपलाइन

पूर्वमा पनि पेट्रोलियम पाइपलाइन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ ।

भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते बसेको थियो । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको यो पहिलो बैठक हो । बैठकमा नेपालले गरेको सो प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाली पक्षको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुर्व घिमिरेले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा भण्डारणका लागि भारतको सिलिगुडीदेखि नेपालको झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले राखेको प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको जानकारी दिए ।

प्रस्तावित पाइपलाइनबारे सम्भाव्यता अध्ययन गर्न भारतीय पक्ष सकारात्मक देखिएको छ । सहसचिव घिमिरेले बैठकमा पाइपलाइन बिछ्याउनेबारे नेपालले गरेको प्रस्तावमा आवश्यक छलफल गरी चाँडै नै जवाफ दिने प्रतिबद्धता भारतीय पक्षले गरेको जानकारी दिए । उनले भने, “प्रस्तावित यस पाइपलाइन बिछ्याउनेबारे सम्भाव्यता अध्ययन गर्न नेपाल आयल निगमले भारतीय आयल निगमसमक्ष लिखित प्रस्ताव पेस गर्नेछ ।

भारतीय आयल निगमले सो प्रस्तावको अध्ययन तथा मूल्याङ्कन गरेपछि अध्ययन कार्य अगाडि बढाउने छ । ” दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको पाँच महिनापछि दोस्रो अन्तरदेशीय पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको छ । नेपाल र भारतका प्रधानमन्त्रीले भदौ २४ गते संयुक्त रूपमा उद्घाटन गर्नुभएपछि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको हो ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo