काठमाडौं ।
सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन खुल्ला भएको ६ दिनमै बन्द भएको छ ।
कोरोना महामारीका कारण विगत १० महिनादेखि बन्द भएको थियो । यति लामो समयपछि गत पुस १४ गते मंगलबारदेखि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुल्ला गरेको थियो ।
१० महिना पछि खुल्ला भए पनि अनलाइन फारम भर्न चाहने सबैले फारम भर्न सकेका थिएनन् । विहान ५ बजे नै अनलाइन फारम भर्न खोज्दा कोटा फूल भइ सक्ने थियो ।
यस्तो गुनासो आइरहेको अवस्थामा अनलाइन आवेदन खुला भएको ६ दिनपछि विभागको अनलाइन सर्भरमा समस्या आउँदा आवेदन बन्द गरिएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रयोगकर्ताको चाप बढी हुँदा सर्भरमा समस्या उत्पन्न भएकाले केही समयका लागि अनलाइन आवेदन बन्द गरिएको जानकारी दिएका छन् । उनका अनुसार सर्भरमा समस्या भएकाले बन्द गरिएको र अहिले मर्मत कार्य जारी रहेकाले मर्मत कार्य सकिएपछि मात्रै पुनः सञ्चालनमा आउने छ ।
सोमबार विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र अनलाइन फाराम सर्भरको मर्मत कार्यका लागि पुस २० गते (आज) देखि अनलाइन सर्भर बन्द गरिएको जानकारी दिएको छ ।































प्रतिक्रिया