- रामजी बलामी-
भनिन्छ, ‘नकारात्मकभित्र सकारात्मक कुरा लुकेको हुन्छ त्यसकारण नकारात्मक घटनाबाट सकारात्मक पाठ सिक्ने कोसिस गर्नुपर्छ ।’ नेपाली समाजमा अर्काे पनि एउटा भनाइ छ, ‘जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ, र त्यो समाधान भनेको विकल्पको खोजी हो ।’ हो, यही विकल्पको खोजीले आज नेपालको सार्वजनिक यातायात क्षेत्रमा एउटा ‘प्राविधिक क्रान्ति’ छाएको छ ।
वि.सं.२०७२ को विनाशकारी भूकम्पले चर्चराइरहेको नेपालीको घाउमा भारतले नाकाबन्दी गरेर नुनचुक छर्यो । नाकाबन्दीबाट आक्रान्त नेपालीले समस्याको समाधानका लागि विकल्पहरू खोजी गरे । तिनै विकल्पमध्ये एउटा गतिलो विकल्प बन्यो ‘लिफ्ट कल्चर’ । अहिले फस्टाइरहेको ‘राइड सेयरिङ’ सुविधा त्यही ‘लिफ्ट कल्चर’ को विकसित रूप हो । फरक यति हो कि ‘लिफ्ट कल्चर’ निःशुल्क हो भने ‘राइड सेयरिङ’ सशुल्क ।
विश्वमा निकै लोकप्रिय राइड सेयरिङ पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै छ । यो माध्यम लोकप्रिय बन्नुको मुख्य कारण छिटो छरिटो, सस्तो र भरपर्दाे सुविधा हो । यसले एकातिर सवारी चालकहरूको खाली समय सदुपयोग भइरहेको छ भने अर्काेतिर यात्रुहरूले सार्वजनिक यातायातका साधनहरूमा बेहोर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।
नेपाली बजारमा बढ्दो लोकप्रियतासँगै पछिल्लो समय थुप्रै राइड सेयरिङ एप्सहरू आएका छन् । राइड सेयरिङ कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । थरिथरिका एप्सहरूको थरिथरिका सुविधाले सवारी चालक (राइडर) र यात्रु (युजर)हरूमा कुन एप्स सबैभन्दा राम्रो भन्ने द्विविधा उत्पन्न भएको छ । जब कि सबै कम्पनीले सकेसम्म धेरै सुविधा दिने र ग्राहक तान्ने बाटो अपनाएका छन् । राइडर र युजरले आफू यात्रा गर्ने ठाउँ, यात्रा गर्ने दूरी, सुरक्षा, सुविधा, भाडा दर, कमिशन दर, छुट, अफर आदिका आधारमा एप्स छनौट गर्न सक्छन् । यस आधारमा हेर्दा सबैभन्दा उपयुक्त एप्स कुन हो त ? यस्तो अवस्थामा राइडर तथा यात्रु दुवैले विचार पुर्याएर आफूलाई अनुकूल हुने एप्स छनोट गर्न सक्छन् ।
पहिलो नेपाली राइड सेयरिङ कम्पनी: टुटल
वि.सं. २०७३ देखि सञ्चालनमा आएको टुटल नेपालमा सबैभन्दा पहिले भित्रिएको राइड सेयरिङ एप्स हो । टुटुलका कार्यकारी निर्देशक शिक्षित भट्टले सार्वजनिक यातायातमा व्याप्त बेथितिको विकल्प र आम्दानीको नयाँ अवसरका रूपमा टुटलको उदय भएको बताए ।
हाइपरलुप नेपाल प्रालिबाट सञ्चालित टुटल नेपालीकै हितमा काम गर्ने लक्ष्यका साथ अघि बढेको बताउँदै भट्टले भने, “हामी भागेर कहीँ जान सक्दैनौं, नेपालीलाई सुविधा दिन टुटल आएको हो ।” काठमाडौं उपत्यकाभरि मोटरसाइकल र स्कुटरबाट टुटल प्रयोग गर्न सकिन्छ । टुटलको भाडा दर ३ किमीसम्म ६० रुपैयाँ र त्यसपछि प्रति किमी १८ रुपैयाँ जोडिन्छ । टुटलको सेवा एन्ड्रोइड र आइओएस दुबै फोन प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । टुटल प्रयोगकर्ताले नगद, टुटल एकाउन्ट, ई सेवा, खल्ती एप्सहरू प्रयोग गरी भुक्तानी लिन र दिन सकिन्छ । कम्पनीले कमिसन नलिने भएकाले प्रयोगकर्ता र राइडर दुवैका लागि फाइदाजनक भएको कम्पनीको दावी छ ।
बंगलादेशी कम्पनी: पठाओ
ट्रान्स्पोर्टेशन नेटवर्क कम्पनीद्वारा सन् २०१५ मा बंगलादेशमा स्थापना गरिएको कम्पनी पठाओले २५ सेप्टेम्बर २०१८ देखि नेपालमा सेवा विस्तार गरेको हो । पठाओ नेपाल प्रालिका निर्देशक असिममान सिंह बस्नेतले पठाओ काठमाडौंमा सबैभन्दा ठूलो र लोकप्रिय एप्स भएको दाबी गरे । पठाओ दैनिक एक लाख ५० हजार भन्दा बढी प्रयोग हुने कम्पनीको दावी छ । पठाओमा यात्रु चढ्ने बित्तिकै न्यूनतम ३० रुपैयाँ भाडा लाग्छ भने प्रति किमी १५ रुपैयाँ जोडिन्छ । पठाओले राइडरहरूसँग प्रत्येक ट्रिपबाट २० प्रतिशत कमिसन लिँदै आएको छ ।
उपत्यका बाहिरको समेत सुविधा : सरर नेपाल
पछिल्लो समय लोकप्रिय राइड सेयरिङ एप्स हो सरर नेपाल । गत सेप्टेम्बरदेखि संचालनमा आएको यो कम्पनीले काठमाडौं उपत्यकाका साथै पोखरा र लुम्बिनीमा पनि सेवा विस्तार गरेको छ । काठमाडौं उपत्यकाका अलावा मकवानपुरको कुलेखानी, काभ्रेको धुलिखेललगायतका ठाउँमा पनि सेवा विस्तार गरेको छ । मोटरसाइकल, स्कुटर र कारमार्फत सररको सेवा लिन सकिन्छ ।
कम्पनीका अपरेसन हेड सन्तोष कुमार बिमलीले सरर नेपाल अहिलेसम्मकै सस्तो राइड सेयरिङ एप्स भएको दावी गरे । कम्पनीले प्रति ट्रिप एक रुपैयाँ सामाजिक उत्तरदायित्वका लागि खर्चिदै आएको बताउँदै विमलीले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले उखु किसानलाई ज्याकेट वितरण गरेका थियौं ।” राइड सेयरिङको अन्तराष्ट्रि मापदण्ड अनुसार भाडादर निर्धारण गरेको बताउँदै उनले भने, “न्यूनतम भाडा दर ४५ रुपैयाँ हो, त्यसपछि जति यात्रा गर्नुभयो त्यति नै भाडा लाग्छ ।” सवारी चालकहरूको सुविधाका लागि कम्पनीले १० मिनेटभन्दा बढी कुराउने यात्रुलाई वेटिङ चार्ज लगाउने गरेको छ ।
कम्पनीले राइडरहरूलाई प्रोत्साहनका लागि साप्ताहिक छुट, सबैभन्दा बढी राइड गर्नेलाई १० लिटर पेट्रोल, रिचार्ज कार्ड, डाटालगायतको सुविधा उपलब्ध गराएको छ । कम्पनीले अहिले राइडरहरूसँग ५ प्रतिशत कमिसन लिँदै आएको भए पनि निकट भविष्यमै कमिसन दर घटाउने बताएको छ । एन्ड्रोइड र आइओस दुवै फोन प्रयोगकर्ताका लागि उपयोगी यसमा एडभान्स बुकिङको सुविधा पनि उपलब्ध छ ।
तालिमपछि मात्रै राइडर: जुग्नू नेपाल
विश्वव्यापी राइड सेयरिङ एप्स जुग्नू नेपालमा गत पुस ३ गतेदेखि सञ्चालनमा आएको हो । कम्पनीका मेनेजर प्रकृति बास्कोटाले राइड सेयरिङको क्षेत्रमा नयाँ आयामका रूपमा जुग्नू भित्रिएको जानकारी दिइन् । छोटो समयमै चालक र यात्रुको रोजाइ पर्न सफल भएको बताउँदै बास्कोटाले तत्काललाई काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि निकट भविष्यमै सेवा विस्तार गर्ने बताइन् ।
कम्पनीले यसका राइडरहरूलाई प्राथमिक उपचार र सुरक्षाको तालिम समेत प्रदान गर्दै आएको छ । मोटर साइकल, स्कुटर र ट्याक्सीमार्फत जुग्नूको सेवा प्रयोग गर्न सकिने बास्कोटाले जानकारी दिइन् । जुग्नूको न्यूनतम भाडादर २७ रुपैयाँ छ । यसमा यात्राको दूरीअनुसार प्रतिकिमी १३ रुपैयाँ जोडिन्छ । जुग्नूले अहिले चालकहरूसँग कमिसन लिएको छैन ।
सुरक्षामा संवेदनशील : फिलिलि
फिलिलि अनलाइन यातायात सेवाद्वारा संचालित फिलिलि सर्भिस गत मंसिरदेखि संचालनमा आएको हो । यसमा तत्काललाई मोटरसाइकल, स्कुटर, कार र ट्याक्सीबाट मात्रै सेवा लिन सकिने भएका पनि निकत भविष्यमै जिप र माइक्रोको सुविधा पनि ल्याउने कम्पनीका प्रबन्ध निर्देशक विप्कला राईले जानकारी दिइन् ।
फिलिलिले राइडर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेको बताउँदै राईले भनिन्, “रजिस्ट्रेसन गर्ने बेलामा नजिकका २ जना आफन्तको नम्बर अनिवार्य रूपमा राख्नुपर्छ, अफ्ठ्यारो परेका बेला हामी आफन्तलाई खबर गरिदिनेछौं ।” यसको सुविधा तत्कालका लागि काठमाडौं उपत्यकाभित्र मात्रै रहेको छ । यो सेवा एन्ड्रोइड र आइओएस दुबै फोन प्रयोगकर्ताका लागि उपलब्ध छ । फिलिलिले राइडरहरूसँग १२ प्रतिशत कमिसन लिँदै आएको छ ।
रजिस्ट्रेसन गर्नासाथ १५० रुपैयाँ: राइड मी ड्राइभर
गत शुक्रबार (भदौ २५) देखि सेवा थालेको यो कम्पनीले पनि हाललाई काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध गराएको छ । कम्पनीका वरिष्ठ सूचना तथा सुरक्षा अधिकृत रबिन्द्र लामिछानेले देशका मुख्य मुख्य शहरहरूमा सेवा विस्तारको तयारी भइरहेको जानकारी दिए । कम्पनीले यात्रु र राइडरको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाह गरिरहेको लामिछानेले बताए ।
कम्पनीले राइडरहरूको प्रोत्साहनका लागि सवारी रजिस्ट्रेसन गर्ने बित्तिकै एक सय ५० रुपैयाँ प्रदान गर्ने गरेको छ । त्यस्तै कम्पनीले साप्ताहिक रूपमा ‘क्विज कम्पिटिसन’ आयोजना गरी सवारीको तेस्रो पक्ष बिमा बराबरको रकम दिने गरेको छ । यो कम्पनीले राइडरहरूसँग ७ प्रतिशत कमिशन लिँदै आएको छ ।
फोन नम्बर गोप्य: हुप
पछिल्लो समय आक्रामक रूपमा उदाएको राइड सेयरिङ एप्स हो हुप । यो कम्पनीले २४ डिसेम्बर २०१९ देखि सेवा थालेको हो । हुपले छोटो समयमै राइडर र यात्रुको मन जित्न सफल भएको कम्पनीका सह संस्थापक विप्लव गौतमले जानकारी दिए । गौतमले राइडर र यात्रुको सुरक्षालाई प्राथमिकताका साथ काम गरिरहेको बताए । यसमा राइडर र यात्रु दुवैको फोन नम्बर गोप्य रहन्छ ।
कम्पनीले राइडर र यात्रुबीच कुराकानी गर्न छुट्टै सफ्टवेयरको विकास गरेको छ । तर, यात्रु गन्तव्यमा पुगेपछि कुराकानी गर्न सकिन्न । फोन नम्वर दुरुपयोग भई यौनहिंसा र ब्ल्याकमेलका घटनाहरू बढ्ने सम्भावना रहेकाले यस्तो प्रविधिको प्रयोग गरिएको गौतम बताउँछन् । “हाम्रो एप्समा राइडर र यात्रु दुवैको फोन नम्बर गोप्य रहन्छ, त्यसकारण फोन नम्बर दुरुपयोग हुन पाउँदैन ।” उनले भने ।
बजार विस्तारको क्रममा रहेको यो कम्पनीले अहिले राइडरहरूसँग कमिसन लिएको छैन । अहिले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन र ट्याक्सीमार्फत हुपको सेवा लिन सकिन्छ । कम्पनीले चाँडै नै पोखरा, विराटनगर, धरान, इटहरी, बुटवल, भैरहवालगायत ठाउँमा सेवा विस्तार गर्दै छ ।





























प्रतिक्रिया