फागुन १४ मा स्ववियु निर्वाचन

फागुन १४ मा स्ववियु निर्वाचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने निर्णय गरेको छ ।त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको लागि पत्र प्राप्त भएको छ’’, उनले भने, ‘‘अव हामी स्ववियु निर्वाचनको तयारीमा जुट्छौं ।’’उनले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताए।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताए ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । वि.सं. ०७३ मा करीब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इञ्जिनीयरीङ, थापाथली इञ्जिनीयरिङ, महाराजगञ्ज शिक्षण अस्पताल लगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो ।

०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिएपनि त्रिविले एकवर्ष समयावधि थप गरेको थियो । त्यस अघि त्रिविले तीन पटक स्ववियु निर्वाचन घोषणा गरेपनि हुन सकेको थिएन । त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।

अहिले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्ने व्यवस्था गरिएको छ ।
रासस

Skip This
Skip This
Logo